कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ आश्विन २०८३, सोमबार ०६:२६

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। अन्तिम मतपरिणामअनुसार उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, इन्जिनियर मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन्।

त्यसैगरी महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला संग्रौला (पन्त) विजयी भएका छन्। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार खुलातर्फका दुई उपसभापति र दुई महामन्त्री तथा समावेशी र महिला समूहबाट एक–एक जना निर्वाचित भएका हुन्।

उपसभापतिमा चन्द्रकान्त भण्डारीलाई सर्वाधिक मत

उपसभापतिको खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्। इन्जिनियर मधु आचार्य २ हजार ३४२ मतसहित विजयी भएका छन्।

अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा. डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।

समावेशीतर्फ विनोदकुमार चौधरी निर्वाचित

उपसभापतिको समावेशीतर्फ विनोदकुमार चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरेका छन्।

त्यस्तै फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन्।

महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा विजयी

महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्। उदयशमशेर राणा २ हजार ३३० मतसहित निर्वाचित भएका छन्।

अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।

महिला महामन्त्रीमा डा. डिला संग्रौला विजयी

महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) ले ३ हजार ११८ मत प्राप्त गर्दै विजय हासिल गरेकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरेका छन्।

अन्तिम मतपरिणामसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति र महामन्त्री पदका नयाँ पदाधिकारी चयन भएका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor