काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष ध्रुवनारायण मानन्धरसहित १६ जनाविरुद्ध ठगी तथा लिखत किर्तेसम्बन्धी मुद्दा दायर भएको छ।
काठमाडौंको ताहाचलस्थित एक रोपनी जग्गा वास्तविक धनीलाई जानकारी नै नदिई बिक्री गरिएको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरेको हो।
अमेरिकामा बस्दै आएका सुमित अडुकियाको जग्गा किर्ते कागजातका आधारमा दीपककुमार अग्रवाललाई नौ करोड ८० लाख रुपैयाँमा बिक्री गरिएको अनुसन्धानबाट खुलेको जनाइएको छ। उक्त घटनामा वडा कार्यालय र मालपोत कार्यालयका कर्मचारीको संलग्नता देखिएपछि सीआईबीले वडाध्यक्ष मानन्धरलाई समेत पक्राउ गरेको थियो।
पक्राउ परेका मानन्धरलाई हाजिरी जमानीमा छाडिएको भए पनि शुक्रबार उनीसहित १६ जनाविरुद्ध मुद्दा दायर गरिएको हो। यस प्रकरणमा वडा कार्यालयका अधिकृत पदमबहादुर थापालाई समेत प्रतिवादी बनाइएको छ।
मुद्दामा प्रतिवादी बनाइएका व्यक्तिहरूमाथि अब अदालतबाट हुने न्यायिक प्रक्रियापछि दोषी वा निर्दोष ठहर हुने कानुनी व्यवस्था छ।
प्रतिक्रिया