काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। कांग्रेसको आगामी नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन्।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यक्रम तय गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले मतदान तीन घण्टा ढिला हुने भएको हो।
मतदानका लागि काठमाडौंका तीन स्थानमा सात वटा मतदान केन्द्र तोकिएको निर्वाचन समितिले जनाएको छ। महाधिवेशन प्रतिनिधिहरूलाई सहज हुने गरी प्रदेश तथा प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो।
निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन्।
त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूका लागि मतदानको व्यवस्था गरिएको छ। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूले पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।
प्रज्ञा भवनमा भने गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले आफूलाई तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।
निर्वाचन समितिका संयोजक खड्काका अनुसार मतदान बिहान १० बजेबाट सुरु हुनेछ। मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित प्रतिनिधिले मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि हुन लागेको मतदानलाई महाधिवेशनको महत्वपूर्ण चरणका रूपमा लिइएको छ। मतदानबाट कांग्रेसको आगामी केन्द्रीय कार्यसमिति चयन हुनेछ।
प्रतिक्रिया