कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव, पदाधिकारीदेखि समावेशी प्रतिनिधित्वसम्म विस्तार
rastriyakhabar
२० आश्विन २०८३, मंगलवार ०६:२३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाउने प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिएको छ।
महामन्त्री प्रदीप पौडेलले पार्टी विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्दै वर्तमान १६७ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरी २९७ सदस्यीय बनाउने प्रस्ताव गरेका हुन्।
प्रस्तावअनुसार कांग्रेसको केन्द्रीय कार्यसमितिमा सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री १५ जना रहनेछन्।
तीन महामन्त्रीमध्ये एक जना महिला रहने प्रस्ताव गरिएको छ। त्यस्तै चार उपसभापतिमध्ये एक जना महिला र एक जना समावेशी समूहबाट निर्वाचित हुने व्यवस्था प्रस्ताव गरिएको छ।
सहमहामन्त्रीतर्फ ११ जना निर्वाचित हुनेछन् भने चार जना सभापतिबाट मनोनित हुने प्रस्ताव छ। कोषाध्यक्ष भने सभापतिले मनोनित गर्ने व्यवस्था प्रस्तावित विधान संशोधनमा राखिएको छ।
२९७ सदस्यीय केन्द्रीय समितिमा खुलातर्फ ४५ जना र खुला महिलातर्फ १५ जना केन्द्रीय सदस्य रहने प्रस्ताव गरिएको छ। प्रदेशगत प्रतिनिधित्वलाई समेत प्राथमिकता दिँदै प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना केन्द्रीय सदस्य रहने व्यवस्था प्रस्ताव गरिएको छ।
त्यस्तै काठमाडौं उपत्यकाबाट एक महिलासहित दुई जना, दलिततर्फ महिलासहित १४ जना, आदिवासी जनजातितर्फ २० जना, खसआर्यतर्फ १८ जना, मधेशीतर्फ १३ जना, थारुतर्फ ६ जना र मुस्लिमतर्फ पाँच जना केन्द्रीय सदस्य रहने प्रस्ताव गरिएको छ।
यसैगरी श्रमिकतर्फ एक महिलासहित तीन जना, पेशागत विज्ञतर्फ दुई महिलासहित सात जना र युवातर्फ २१ जना केन्द्रीय सदस्य रहने प्रस्ताव गरिएको छ।
यसअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय रहेको थियो। प्रस्तावित विधान संशोधन पारित भएमा पार्टीको केन्द्रीय संरचना उल्लेख्य रूपमा विस्तार हुनेछ भने महिला, युवा तथा विभिन्न समावेशी समूहको प्रतिनिधित्वका लागि छुट्टाछुट्टै व्यवस्था लागू हुनेछ।
महाधिवेशनको बन्दसत्रबाट विधान संशोधन प्रस्ताव पारित भएपछि नयाँ संरचना यही महाधिवेशनबाट हुने केन्द्रीय कार्यसमितिको निर्वाचनमा कार्यान्वयनमा आउनेछ।
प्रतिक्रिया