बाढीपहिरोका कारण दसैंको अग्रिम टिकट बुकिङ खुल्न अझै समय लाग्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ आश्विन २०८३, बिहीबार ०६:०३

काठमाडौं। अविरल वर्षा र बाढीपहिरोका कारण देशभरका मुख्य राजमार्गहरू क्षतिग्रस्त भएपछि यस वर्ष दसैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्न अझै केही समय लाग्ने भएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडकको अवस्था सुरक्षित नभएसम्म अग्रिम टिकट बुकिङ खुलाउन नसकिने जनाएको छ।

महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले यात्रुलाई पूर्वसूचना दिएर टिकट बिक्री गर्नुभन्दा सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउनु अहिलेको मुख्य प्राथमिकता भएको बताए।

गत वर्ष चौतर्फी दबाबका कारण समयमै अग्रिम टिकट खुलाइए पनि सडक बिग्रिएका कारण यात्रुहरू तीन दिनसम्म बाटोमै अलपत्र पर्नुपरेको घटना स्मरण गर्दै अध्यक्ष सिटौलाले यसपटक त्यस्तो अवस्था आउन नदिन आफूहरू सतर्क रहेको बताए।

यस वर्ष विगतमा जस्तै दसदेखि १५ दिनअघि नै एकैपटक अग्रिम टिकट खुलाउने सम्भावना कम रहेको महासंघले जनाएको छ। सडकको अवस्थालाई हेरेर दुईदेखि तीन दिनका लागि मात्रै बुकिङ खुलाउने विकल्पबारे महासंघ र सरकारबीच छलफल भइरहेको छ। यातायात व्यवस्था विभागसँग हुने आगामी बैठकपछि यस विषयमा अन्तिम निर्णय गरिनेछ।

बाढीपहिरोका कारण सडकहरू क्षतविक्षत भएको र अझै पहिरोको जोखिम कायम रहेकाले महासंघले यात्रुहरूलाई अत्यावश्यक काम नपरी जोखिम मोलेर यात्रा नगर्न आग्रह गरेको छ। प्राकृतिक प्रकोपको अवस्था गम्भीर रहेकाले सम्भव भएसम्म जो जहाँ छन्, त्यहीँ दसैं मनाउन अध्यक्ष सिटौलाले सुझाव दिएका छन्।

सडक थप बिग्रिनुमा ४० देखि ७० टनसम्म भार बोक्ने मालवाहक अर्थात् ओभरलोड गाडी मुख्य कारण रहेको व्यवसायीहरूको दाबी छ। उनीहरूले त्यस्ता गाडीलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन्। रामनगरलगायतका स्थानमा रहेका तौल पुल प्रभावकारी नभएको र हेभी गाडीहरू नियमविपरीत पास भइरहेको महासंघको आरोप छ।

यसैगरी, व्यवसायीहरूले यसपटक भाडा वृद्धिको कुनै माग नराखेको स्पष्ट पारेका छन्। सडकमा ट्राफिक प्रहरीले गर्ने अनावश्यक चेकिङ बन्द गर्न पनि उनीहरूले आग्रह गरेका छन्। सुरुवाती विन्दुमै आवश्यक जाँच गरी गाडीलाई छुट दिएपछि शङ्कास्पद अवस्था बाहेक बाटोभरि रोकिराखेर दुःख दिन नहुने व्यवसायीहरूको भनाइ छ।

यात्रालाई सुरक्षित बनाउन प्रत्येक सवारीसाधनमा दुईजना चालक राख्ने प्रतिबद्धता भने व्यवसायीहरूले जनाएका छन्।

गत भदौ १० गतेको बाढीपहिरोपछि गाडीहरू बसपार्कमै थन्किँदा यातायात व्यवसायी तथा मजदुरहरू आर्थिक संकटमा परेको महासंघले जनाएको छ। बैंकको किस्ता तिर्न र कर्मचारीलाई तलब तथा भत्ता उपलब्ध गराउनसमेत समस्या भएको महासंघको भनाइ छ।

हाल बाढीपहिरोबाट यातायात क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको नेतृत्वमा समिति गठन गरिएको छ। समितिले संकलन गर्ने विवरणका आधारमा क्षतिपूर्ति तथा पुनरुत्थानका लागि आवश्यक तथ्यांक सरकारसमक्ष बुझाउने तयारी भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor