कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०८३, आईतवार ०६:५७

काठमाडौं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ।

हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थान तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

तराईका पनि एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रातिको समयमा पनि हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा वर्षा हुनसक्ने विभागले जनाएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागले मेघगर्जन, चट्याङ र भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचना हेरेर मात्र यात्रा तथा बाहिरी गतिविधि गर्न आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीसम्बन्धी आपत्कालीन सूचनाका लागि टोल फ्री नम्बर ११५५ समेत उपलब्ध गराएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor