काठमाडौं । पछिल्लो पाँच दिनमा काठमाडौं उपत्यकामा विभिन्न कम्पनीका २ लाख ३३ हजार ६६२ वटा खाना पकाउने ग्यास सिलिण्डर बिक्री गरिएको छ।
पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरो गएर सडक अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका ग्यास उद्योगबाट सिलिण्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याएर बिक्री गरिएको हो।
निगमका अनुसार सोमबार ४८ हजार १०९, मंगलबार ४६ हजार २१८, बुधबार ५३ हजार ४६९, बिहीबार ४५ हजार २३० र शुक्रबार ४० हजार ६३६ वटा सिलिण्डर काठमाडौं ल्याएर बिक्री गरिएको छ।
मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले भदौ १४ गतेदेखि काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगका सिलिण्डर तराईका विभिन्न जिल्लामा रहेका उद्योगमा रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाएको थियो।
त्यसअनुसार बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका ग्यास उद्योगबाट सिलिण्डर भरेर काठमाडौं उपत्यकामा आपूर्ति गरिएको निगमले जनाएको छ।
पृथ्वी राजमार्गको नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्ग प्रयोग गरेर ग्यास सिलिण्डर काठमाडौं ल्याई बिक्री गर्ने व्यवस्था कायम रहने नेपाल आयल निगमले जनाएको छ।
राजमार्ग अवरुद्ध भए पनि उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक मार्ग तथा तराईका उद्योगको प्रयोग गरी आपूर्ति व्यवस्थापनलाई निरन्तरता दिइएको निगमको भनाइ छ।
प्रतिक्रिया