त्रिशूलीको बाढीमा ९२३ कैदीबन्दी जोगाउँदा ५२ सुरक्षाकर्मीको संघर्ष दुई पेरिमिटर पर्खालले जोगायो कारागार, बाढीपछि दुई कैदी भाग्न खोज्दा पुनः नियन्त्रणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०८३, सोमबार ०६:०१

नुवाकोट। सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) का प्रहरी निरीक्षक पप्पु यादवलाई भदौ १० गते बिहान ९ः२६ बजे प्रहरी नायब उपरीक्षक वीरेन्द्र राउतको फोन आयो।

“त्रिशूलीमा ठूलो बाढी आउँदै छ, कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्नु र आफू पनि सुरक्षित हुनु।”

रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूलीतर्फ बढिरहेको सूचना पाएलगत्तै कारागार सुरक्षामा खटिएका सुरक्षाकर्मी ‘हाइ अलर्ट’मा आए। कारागार सुरक्षाको नेतृत्व सशस्त्र प्रहरीतर्फबाट प्रहरी निरीक्षक यादवले गरिरहेका थिए भने नेपाल प्रहरीतर्फ प्रहरी नायब निरीक्षक श्रीकृष्ण सुवेदी नेतृत्वमा थिए।

सूचना पाएपछि दुवै सुरक्षा निकायका ५२ सुरक्षाकर्मी तत्काल परिचालन भए। कारागारका ब्लक १ र २ मा रहेका ५०५ कैदीबन्दीलाई कारागार परिसरभित्रै सुरक्षित एसेम्बली प्वाइन्टमा सारियो।

तर कैदीबन्दीलाई सुरक्षित स्थानमा ल्याएको केही समयमै त्रिशूलीको बाढीले कारागार क्षेत्रमा पहिलो धक्का दियो।

“हामीले कैदीबन्दीलाई जसै एसेम्बलीमा ल्यायौँ, नदी किनारभन्दा अन्दाजी १०० मिटर टाढाको कारागार भवनमा बाढीको पहिलो धक्का लाग्यो,” यादवले भने।

बाढी कारागार परिसरमा प्रवेश गरेपछि कैदीबन्दीमा त्रास फैलियो। उनीहरू तितरबितर हुन थाले। सुरक्षाकर्मीले कैदीबन्दीलाई सुरक्षित राख्न र सम्भावित भागदौड रोक्न एकैसाथ काम गर्नुपर्‍यो।

बाढीसँगै हातहतियार जोगाउने चुनौती

नेपाल प्रहरीका कारागार इन्चार्ज श्रीकृष्ण सुवेदीका अनुसार कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्दै गर्दा कारागारमा रहेका हातहतियारसमेत सुरक्षित गर्ने प्रयास भइरहेको थियो।

“यत्तिकैमा बाढी आयो, कैदीबन्दी, हातहतियार र आफूबाहेक अरु जोगाउन पाएनौँ,” सुवेदीले भने।

हिलो र ग्रेग्यानसहितको बाढी कारागारसम्म आइपुग्नुअघि करिब डेढ किलोमिटर माथि रहेको २५ मेगावाटको नुवाकोट सौर्य परियोजना क्षेत्रमा पुगिसकेको थियो।

कारागारको हाइपोस्टबाट बाढीको भयावह दृश्य देखिरहेका सुरक्षाकर्मीले अवस्था सामान्य नरहेको अनुमान गरिसकेका थिए। केही समयमै बाढी कारागारको प्रशासनिक भवनतर्फ प्रवेश गर्‍यो। त्यसपछि नेपाल प्रहरीको प्रशासनिक भवन हुँदै कैदीबन्दी बस्ने भवनतर्फ बाढीको भेल पुग्यो।

दुई पेरिमिटर पर्खालले ठूलो क्षति रोक्यो

सुरक्षाकर्मीका अनुसार कारागार भवनमा ठूलो क्षति नहुनुको मुख्य कारण कारागारबाहिर रहेका दुईवटा पेरिमिटर पर्खाल बने।

“यदि बाढी कारागारको भवनमा सिधै ठोक्किएको भए ठूलो जनधनको क्षति हुने थियो,” यादवले भने, “तर प्रशासनिक भवन र नेपाल प्रहरीको भवन हुँदै दुई वटा पेरिमिटर पर्खालमा ठोक्किँदा बाढीको गति कम भयो। यसले क्षति कम गरायो।”

बाढीले दुईवटै पेरिमिटर पर्खालको केही हिस्सा भत्काएको छ। पर्खालबीच करिब दुई मिटर दूरी रहेको बताइएको छ। बाढीले एकपछि अर्को गर्दै दुवै पर्खाल भत्काएर कारागार भवनसम्म पुग्दा त्यसको वेग केही कम भएको सुरक्षाकर्मीको भनाइ छ।

यसका कारण कारागार भवन तथा परिसरमा पानी र हिलो पसे पनि ठूलो क्षति हुनबाट जोगिएको उनीहरू बताउँछन्।

बाढीपछि कैदीबन्दीको आन्दोलन, ११ राउण्ड हवाई फायर

बाढीबाट कैदीबन्दीको ज्यान जोगिएपछि पनि सुरक्षाकर्मीको चुनौती सकिएन। बाढीको त्राससँगै कारागारभित्र कैदीबन्दी आन्दोलित हुन थाले।

त्यतिबेला कारागार परिसरमा रहेका ९२३ कैदीबन्दीलाई नियन्त्रणमा राख्दै उनीहरूलाई शान्त पार्ने जिम्मेवारी ५२ सुरक्षाकर्मीमाथि थियो।

५० भन्दा बढी कैदीबन्दी मूल गेटभन्दा बाहिर निस्किएर ठूलो होहल्ला गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन इन्चार्ज यादवले ११ राउण्ड हवाई फायर गर्नुपरेको बताए।

कैदीबन्दी मूल गेटबाहिर आएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक अनुप गुरुङको नेतृत्वमा थप प्रहरी जनशक्ति कारागार पुगेको थियो।

बाढीको त्रासमा भाग्न खोजेका दुई कैदी पुनः पक्राउ

बाढीको त्रास कम भएपछि कैदीबन्दीलाई पुनः कारागारभित्र व्यवस्थापन गर्ने क्रममा दुई जना कैदीबन्दीले भाग्ने प्रयास गरे।

यादवका अनुसार सुरक्षाकर्मीले कैदीबन्दीलाई बाढीबाट जोगाउने आश्वासन दिइरहेका बेला उनीहरू खेत हुँदै जंगलतर्फ भाग्न खोजेका थिए।

“हामी त्यहाँ पुग्दा कैदीबन्दी हामीलाई बाढीबाट ज्यान बचाउँछौँ, भाग्दैनौँ भन्दै थिए। यद्यपि हामी सतर्क थियौँ। यत्तिकैमा दुई जना खेतैखेत जंगलतर्फ भाग्न थाले,” यादवले भने, “मैले नै दौडिएर उनीहरूलाई दिउँसो ११ बजेतिर पक्राउ गरी फर्काएर ल्याएँ।”

दिउँसो करिब ११ः३० बजेसम्म बाढी शान्त भएको थियो। त्यसपछि कैदीबन्दीलाई पुनः कारागारभित्र व्यवस्थापन गरिएको थियो।

बाढी रोकिए पनि जोखिम कायमै

बाढीको तत्कालीन जोखिम टरे पनि कारागारमा त्रास भने अझै कायमै छ। सुरक्षाकर्मीका अनुसार त्रिशूली नदीमा पुनः बाढी आउने सम्भावना रहेको छ। त्यससँगै बाढीले कमजोर बनाएका कारागारका भौतिक संरचना पनि जोखिमपूर्ण अवस्थामा छन्।

बाढी आएको दुई दिनपछि, अर्थात् भदौ १२ गते कारागारमा रहेका ३२ महिला कैदीबन्दीलाई मकवानपुरको भीमफेदी कारागारमा स्थानान्तरण गरिएको थियो।

हाल कारागारमा बालसुधार गृहका १३८ जनासहित ८८७ कैदीबन्दी रहेका छन्। सुरक्षाका लागि सशस्त्र प्रहरी बलतर्फ थप ३० जना जनशक्ति थपिएपछि कुल ६२ जना पुगेका छन् भने नेपाल प्रहरीतर्फ २० जना सुरक्षाकर्मी कार्यरत छन्।

बाढीका कारण कारागारका एक–दुई ब्लक प्रभावित भएपछि हाल कैदीबन्दी तथा बालसुधार गृहका बालबालिकालाई एउटै युनिटभित्र दुईवटा ब्लकमा राखिएको छ। सुरक्षाका दृष्टिले यो अवस्था जोखिमपूर्ण हुन सक्ने भएकाले व्यवस्थापनमा थप सुधार आवश्यक रहेको सुरक्षाकर्मीहरू बताउँछन्।

बाढीपछि कारागारको प्रशासनिक भवनसमेत त्रिशूली नदी किनारबाट सुरक्षित स्थानमा सारिएको छ।

भयावह बाढीका बीच कैदीबन्दीको ज्यान जोगाउन सुरक्षाकर्मीले तत्काल निर्णय, उद्धार र भीड नियन्त्रण एकैपटक गर्नुपरेको थियो। दुई पेरिमिटर पर्खालका कारण ठूलो क्षति टरे पनि बाढीले कारागारको सुरक्षा पूर्वाधारमा पुर्‍याएको असरले आगामी दिनमा थप व्यवस्थापन र पूर्वतयारी आवश्यक देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor