भोटेकोशी बाढीमा १ हजार २०४ शव फेला, ४ हजार २१६ जना सम्पर्कविहीन
rastriyakhabar
१८ भाद्र २०८३, बिहीबार ०६:१६
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट उत्पन्न विपद्का कारण हालसम्म १ हजार २०४ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवमध्ये रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, चितवनमा ३४८, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा २०२ जना रहेका छन्।
प्राधिकरणका अनुसार हालसम्म ९५ शवको सनाखत भई आफन्तले बुझिसकेका छन्।
४ हजारभन्दा बढी अझै सम्पर्कविहीन
पछिल्लो विवरणअनुसार बाढी तथा विपद्का कारण ४ हजार २१६ जना सम्पर्कविहीन छन्।
सम्पर्कविहीनमध्ये जलविद्युत् आयोजनामा कार्यरत ९०० जना, रसुवाका ८६५ जना र नुवाकोटका १ हजार ५५८ जना रहेका छन्।
त्यस्तै, नेपाल सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १४ तथा अध्यागमन कार्यालयका ३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
यसैगरी ५८३ जना विदेशी नागरिक तथा नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १६४ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना तथा क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन छन्।
त्यस्तै, जनप्रतिनिधि ७ जना, स्थानीय तह वा अन्तर्गतका कर्मचारी ३२ जना र निजी विद्यालयका एक जना शिक्षकसमेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
करिब १२ हजारको उद्धार
विपद्मा फसेका तथा प्रभावित भएका ११ हजार ९९३ जनाको उद्धार भइसकेको छ।
प्राधिकरणका अनुसार बाढी तथा विपद्का कारण हालसम्म ३०१ जना घाइते भएका छन्। घाइतेमध्ये १९५ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, शव सङ्कलन तथा पहिचान र उद्धार कार्यलाई सुरक्षा निकाय तथा सम्बन्धित निकायले निरन्तरता दिइरहेका छन्।
प्रतिक्रिया