हेटौँडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौं जोड्ने वैकल्पिक सडकमा सवारीसाधनको चाप बढेको छ। सडकमा बढेको चापका कारण सामान्य अवस्थामा करिब तीन घण्टामा पूरा हुने हेटौँडा–काठमाडौं यात्रा गर्न अहिले पाँच घण्टासम्म समय लाग्न थालेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश विष्टका अनुसार वैकल्पिक सडक साँघुरो भएकाले सवारी चाप व्यवस्थापन गर्न विभिन्न स्थानमा केही समय सवारी रोक्दै समूहगत रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीसाधनलाई भने प्राथमिकताका साथ गन्तव्यतर्फ पठाउने व्यवस्था गरिएको छ।
हाल १४ सिटसम्मका साना यात्रुवाहक सवारीसाधन हेटौँडाबाट भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौं सञ्चालन भइरहेका छन्।
त्यसैगरी काठमाडौं–हेटौँडा आवतजावत गर्ने साना सवारीसाधनलाई फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्गबाट सञ्चालन गरिएको प्रहरी निरीक्षक विष्टले जानकारी दिए।
वैकल्पिक सडकमा सवारीको संख्या बढेसँगै यात्रुले लामो समयसम्म जाम तथा ढिलाइको समस्या भोग्नुपरेको छ।
यसैबीच, काठमाडौं उपत्यकामा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन १२ चक्कासम्मका मालवाहक सवारीसाधनलाई भैँसेबाट त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाउने व्यवस्था मिलाइएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार काठमाडौंबाट हेटौँडातर्फ आउने मालवाहक सवारीसाधनलाई भने एकान्तकुना–छम्पी–टिकाभैरव हुँदै कान्ति लोकपथबाट सञ्चालन गरिनेछ।
मालवाहक सवारीसाधनलाई दुवै दिशामा आ–आफ्नो निर्धारित वैकल्पिक मार्गबाट एकतर्फी रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
प्रशासकीय अधिकृत सुवेदीका अनुसार वैकल्पिक व्यवस्थाअन्तर्गत दुवै मार्गबाट ग्यास बुलेट सञ्चालन गर्न नदिने निर्णय गरिएको छ। तर ग्यास भरिएका सिलिन्डर बोकेका ट्रकलाई भने त्रिभुवन राजपथबाट सञ्चालन गर्ने व्यवस्था गरिएको छ।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौं प्रवेश तथा बाहिरिने सवारीसाधन मकवानपुरका वैकल्पिक सडकमा केन्द्रित भएका छन्। जसका कारण पछिल्ला दिनमा भीमफेदी, कुलेखानी, फाखेल, सिस्नेरी तथा दक्षिणकाली क्षेत्रका सडकमा समेत सवारी चाप र यात्रुको आवागमन बढेको छ।
प्रतिक्रिया