टिमुरेमा एकैदिन भेटिए ६१ शव, भग्नावशेषमा खोजी तीव्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०८३, बुधबार ०६:०८

काठमाडौं । विनाशकारी भोटेकोशी बाढी आएको छैटौँ दिन रसुवाको टिमुरे क्षेत्रमा खोज तथा उद्धार अभियान तीव्र पारिएको छ। खोजीका क्रममा एकैदिन ६१ वटा शव फेला परेका छन्।

सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार हेलिकोप्टरमार्फत थप जनशक्ति परिचालन गरिएपछि टिमुरेमा खोज तथा उद्धारको काम तीव्र पारिएको हो। ठूलो संख्यामा शव फेला परेपछि उद्धार टोलीले भग्नावशेष तथा बाढी प्रभावित क्षेत्रमा खोजीलाई थप व्यापक बनाएको छ।

भोटेकोशी बाढीले एक–दुईवटा घरबाहेक टिमुरे बजारको अधिकांश भाग बगाएको बताइएको छ। बजार क्षेत्रका घर तथा संरचनाका भग्नावशेषमा खोजी गर्दा ठूलो संख्यामा शव भेटिएको हो।

टिमुरेमा सोमबारदेखि फरेन्सिक विशेषज्ञसहितको टोलीसमेत परिचालन गरिएको छ। फेला परेका शवलाई आवश्यक प्रक्रिया पूरा गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको जनाइएको छ।

बाढीका कारण सडक सञ्जाल तथा यातायातका संरचना भत्किएपछि रसुवाका दुर्गम तथा प्रभावित क्षेत्रमा छ दिनपछि मात्रै खोज तथा उद्धार टोली पुग्न थालेको हो।

बाढीले कार्यालय तथा सुरक्षाकर्मीका संरचनासमेत बगाएपछि उद्धार अभियानमा ढिलाइ भएको बताइएको छ। स्थानीयवासीका अनुसार रसुवाका केही प्रभावित क्षेत्रमा अझै पनि सुरक्षाकर्मी तथा उद्धार टोली पुग्न सकेका छैनन्।

यसैबीच, प्रभावित क्षेत्रमा बेपत्ता नागरिकको खोजी, शव संकलन तथा उद्धार कार्यलाई थप तीव्र बनाउन सुरक्षा निकायले जनशक्ति र आवश्यक उपकरण परिचालन गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor