काठमाडौंमा ग्यास अभाव हुन नदिन आयल निगमको नयाँ निर्देशन : जुनसुकै ब्रान्डका सिलिन्डर रिफिल गर्नुपर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०८३, बुधबार ०६:०१

काठमाडौं । आयल निगमले काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा एलपी ग्यासको आपूर्ति सहज बनाउन तराई क्षेत्रमा रहेका ग्यास उद्योगलाई जुनसुकै ब्रान्डका सिलिन्डर रिफिल गर्न निर्देशन दिएको छ।

निगमको एलपीजी विभाग प्रमुखसमेत रहेका निर्देशक विनीतमणि उपाध्यायले विभिन्न ग्यास उद्योगलाई पत्राचार गर्दै कृष्णभीरको पहिरो रोकथाम भई पृथ्वी राजमार्ग सञ्चालनमा नआएसम्म अन्य ब्रान्डका सिलिन्डरमा समेत ग्यास भर्न निर्देशन दिएका हुन्।

निगमले हेटौँडास्थित साहारा ग्यास उद्योगलाई एभरेस्ट र सुगम ब्रान्डका सिलिन्डरमा ग्यास भर्न निर्देशन दिएको छ। निगमको पत्रमा उद्योगको नाममा लोड भएर आउने ग्यास बुलेट साहारा ग्यास उद्योगमा खाली गरी ती सिलिन्डरमा एलपी ग्यास रिफिल गर्न र कृष्णभीरको बाटो नखुलेसम्म वैकल्पिक मार्ग हुँदै काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गर्न भनिएको छ।

निर्देशनपछि साहारा ग्यास उद्योगले काठमाडौंका लागि एभरेस्ट र सुगम ग्यासका सिलिन्डर रिफिल गरी सोमबार नै पठाएको थियो। तर कान्ति लोकपथमा समेत पहिरोका कारण उक्त ग्यास मंगलबार दिउँसो करिब २ बजे मात्रै काठमाडौं आइपुगेको जनाइएको छ।

यसैगरी, आयल निगमको निर्देशनपछि नेपाल ग्यासले चितवन र धनुषामा रहेका आफ्ना प्लान्टबाट ग्यास रिफिल गर्न थालेको छ।

सगर ग्यासले पनि नवलपरासीस्थित चण्डेश्वरी प्लान्टबाट ग्यास रिफिल गर्न थालेको जनाएको छ।

अन्य ब्रान्डका सिलिन्डरमा ग्यास भरेर बजारमा पठाउँदा उत्पन्न हुने सुरक्षा तथा अतिरिक्त लागतको सम्पूर्ण दायित्व सम्बन्धित ग्यास उद्योगले नै व्यहोर्नुपर्ने व्यवस्था निगमले गरेको छ।

कृष्णभीरको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा एलपी ग्यास आपूर्तिमा समस्या हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै निगमले वैकल्पिक व्यवस्थामार्फत आपूर्ति निरन्तर राख्ने प्रयास गरेको हो।

प्रतिक्रिया

Leave a Reply

slot gacor