राष्ट्रिय गौरवका सिँचाइ आयोजना समयमै सक्ने सरकारको योजना, बबई र भेरी–बबई दुई वर्षभित्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ भाद्र २०८३, बुधबार ०५:४८

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ तथा जलस्रोत आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्नेगरी कार्ययोजना अघि सारेको छ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव मोहनकुमार शाक्यले राष्ट्रिय गौरवका आयोजनामध्ये बबई र भेरी–बबई डाइभर्सन आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए। त्यस्तै सुनकोशी–मरिन डाइभर्सन, सिक्टा र रानी जमरा–कुलरिया आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ। महाकाली सिँचाइ आयोजना भने आर्थिक वर्ष २०९१/९२ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका सचिव, महाशाखा प्रमुख, सल्लाहकार, आयोजना प्रमुख तथा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक र उपमहानिर्देशकसहितको बैठकले आयोजनाको प्रगति, समस्या, चुनौती तथा सम्पन्न गर्ने समयसीमाबारे छलफल गरेको थियो।

सुनकोशी–मरिन पाँच वर्षभित्र

सिन्धुली र रामेछापमा निर्माण भइरहेको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको कुल कमान्ड क्षेत्र १ लाख २२ हजार हेक्टर रहेको छ। आयोजनाको लागत अनुमान ६१ अर्ब ६५ करोड रुपैयाँ रहेकोमा हालसम्म करिब १७ अर्ब रुपैयाँ खर्च भएको छ।

आयोजनाको वित्तीय प्रगति ३७ प्रतिशत र भौतिक प्रगति ३४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। ठूलो ठेक्का तोडिएपछि करिब २४ अर्ब रुपैयाँको पुनः बोलपत्र आह्वान गरिएको छ।

भेरी–बबई दुई वर्षभित्र

सुर्खेतमा निर्माण भइरहेको भेरी–बबई डाइभर्सन आयोजनाको लागत करिब ३३ अर्ब २० करोड रुपैयाँ रहेको छ। हालसम्म १९ अर्ब ३० करोड रुपैयाँ खर्च भएको छ।

आयोजनाको वित्तीय प्रगति ५८.६ प्रतिशत र भौतिक प्रगति ६६.४ प्रतिशत पुगेको छ। निर्माण व्यवसायीका कारण केही ढिलाइ भए पनि कामको गति बढेकाले आगामी दुई वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको शाक्यले बताए।

सिक्टाबाट २५ हजार हेक्टरमा सिँचाइ

नेपालगन्जस्थित सिक्टा सिँचाइ आयोजनाबाट ४२ हजार ७०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ। हालसम्म करिब २५ हजार हेक्टर क्षेत्रमा सिँचाइ पुगेको छ।

करिब ५३ अर्ब रुपैयाँ लागत रहेको आयोजनामा हालसम्म २३ अर्ब रुपैयाँ खर्च भएको छ। वित्तीय प्रगति ४४ प्रतिशत र भौतिक प्रगति ५१ प्रतिशत छ। ‘डिस्पर्सिभ स्वाइल’का कारण देखिएको प्राविधिक समस्या समाधान गर्दै पाँच वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

रानी जमरा–कुलरियामा ३८ हजार हेक्टर लक्ष्य

कैलालीस्थित रानी जमरा–कुलरिया सिँचाइ आयोजनाबाट ३८ हजार ३०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ। हालसम्म १३ हजार २०० हेक्टरमा सुविधा पुगेको छ।

करिब ३० अर्ब रुपैयाँ लागत रहेको आयोजनामा २२ अर्ब रुपैयाँ खर्च भइसकेको छ। वित्तीय प्रगति ७३ प्रतिशत र भौतिक प्रगति ७५ प्रतिशत रहेको छ। आयोजनाबाट ४.७ मेगावाट विद्युत्समेत उत्पादन भइरहेको छ।

बबई आयोजना दुई वर्षभित्र

बर्दियास्थित बबई सिँचाइ आयोजना अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ। ३६ हजार हेक्टरमा सिँचाइ पुर्‍याउने लक्ष्य रहेको आयोजनाबाट हालसम्म २८ हजार ८०० हेक्टरमा सुविधा पुगेको छ।

आयोजनाको लागत २६ अर्ब ६९ करोड रुपैयाँ रहेकोमा १८ अर्ब २१ करोड रुपैयाँ खर्च भइसकेको छ। वित्तीय प्रगति ६८.२३ प्रतिशत र भौतिक प्रगति ८१.९७ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०८५/८६ भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

महाकाली सिँचाइ २०९१/९२ सम्म

कञ्चनपुरस्थित महाकाली सिँचाइ आयोजनाको लागत अनुमान करिब ३७ अर्ब रुपैयाँ रहेको छ। हालसम्म १० अर्ब ७४ करोड रुपैयाँ खर्च भएको छ। वित्तीय प्रगति ३०.६८ प्रतिशत र भौतिक प्रगति करिब ३१ प्रतिशत छ।

आयोजनाबाट ३३ हजार ५०० हेक्टरमा सिँचाइ पुर्‍याउने लक्ष्य भए पनि हाल करिब ५ हजार १५५ हेक्टरमा मात्र सुविधा पुगेको छ। जग्गा प्राप्ति तथा महाकाली सन्धिअनुसार भारतबाट प्राप्त हुनुपर्ने पानीको अनिश्चिततालाई प्रमुख चुनौतीका रूपमा लिइएको छ।

आयोजना ढिलाइ हुनुमा स्कोप विस्तार र ठेकेदारको ढिलासुस्ती

सहसचिव शाक्यले विगतमा आयोजना समयमै सम्पन्न हुन नसक्नुमा निर्माण व्यवसायीको ढिलासुस्तीका साथै समयक्रममा आयोजनाको ‘स्कोप’ बढ्दै जानु प्रमुख कारण रहेको बताए।

अब भने निश्चित समयसीमा तोकेर आयोजना सम्पन्न गर्नेगरी कार्ययोजना बनाइएको मन्त्रालयले जनाएको छ। त्यसका लागि आवश्यक बजेट, प्रशासनिक सहजीकरण तथा अर्थ मन्त्रालय र नेपाल सरकारसँग समन्वय गरी आयोजना अघि बढाइने मन्त्रालयको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor