सिराहा । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा गस्तीमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले विभिन्न स्थानबाट २६ लाख २९ हजार ९९३ रुपैयाँबराबरका भन्सार छलीका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार सोमबार जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट छुट्टाछुट्टै टोलीले गस्तीका क्रममा अवैध रूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको हो।
बरामद सामानमा लत्ताकपडा, कस्मेटिक तथा किराना सामग्री, मदिरा, पेय पदार्थ, हार्डवेयरका सामान, बिउबिजन तथा मोटरसाइकल रहेका छन्। बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी माडर भन्सार कार्यालयमा दाखिला गरिएको प्रहरीले जनाएको छ।
दुई महिनामा ४७ लाखभन्दा बढीका सामान भन्सार दाखिला
सीमा क्षेत्रमा अवैध निकासी तथा चोरी–पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई थप कडाइ गरेको जनाएको छ। गस्ती बढाएसँगै विभिन्न सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी ल्याइएका तथा भारततर्फ लैजान लागिएका सामान बरामद हुने क्रम बढेको प्रहरीको भनाइ छ।
गणका अनुसार पछिल्लो अवधिमा जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट ४७ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा मोटरसाइकल बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको छ।
प्रहरीका अनुसार गत २३ साउनमा मोटरसाइकल, लत्ताकपडा, कस्मेटिक, किराना सामान तथा विभिन्न ब्रान्डका मदिरासहित ८ लाख ९७ हजार ९७९ रुपैयाँबराबरको सामान बरामद गरिएको थियो।
त्यस्तै, १ साउनमा १५ लाख ४८ हजार ८७० रुपैयाँ तथा ३ असारमा १४ लाख ३ हजार ३२६ रुपैयाँबराबरका अवैध सामान बरामद गरी भन्सारमा दाखिला गरिएको जनाइएको छ।
यसैगरी, १८ असारमा सशस्त्र प्रहरीको गस्ती टोलीले सिराहा नगरपालिका–१६ खिरौनाबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको तथा नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा किराना सामान, कपडा, मोटरसाइकल तथा मदिरासहित ९ लाख २६ हजार ८५० रुपैयाँबराबरको सामान बरामद गरेको थियो।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध निकासी, चोरी–पैठारी तथा भन्सार छली नियन्त्रणका लागि नियमित गस्ती, निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।
प्रतिक्रिया