जाजरकोट पहिरोको कहर : चार जनाको मृत्यु, २०० भन्दा बढी स्थानीय सुरक्षित स्थानमा सारिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ भाद्र २०८३, सोमबार ०६:०८

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। पहिरोको उच्च जोखिमका कारण २०० भन्दा बढी स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पहिरोमा परी भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की, करिब ८७ वर्षीया रती खत्री र उनका ५४ वर्षीय छोरा उमासिंह खत्रीको मृत्यु भएको छ। त्यस्तै, ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धीसागर पुरीले जानकारी दिए।

पहिरोमा परी गम्भीर घाइते भएका रामबहादुर शाही, सिद्धिबहादुर कामी र भद्राकली कार्कीलाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ। अन्य केही घाइतेको स्थानीय स्तरमा उपचार भइरहेको छ भने तीन जना घाइते उपचारपछि डिस्चार्ज भएका छन्।

२०० भन्दा बढी नागरिक सुरक्षित स्थानमा

भेरी नगरपालिका–२ रिसाङ, चिसापानी, झ्यालीखेत डाँडा र राउटेरे डाँडालगायत उच्च जोखिमयुक्त क्षेत्रका करिब ६०–७० घरपरिवारका १५० देखि २०० जनासम्मलाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित रूपमा राखिएको छ।

प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा सुरक्षित स्थानान्तरणको कार्य गरिरहेको छ। प्रहरी नायब निरीक्षक प्रेमबहादुर फौजाको नेतृत्वमा १० जना प्रहरी उद्धार कार्यमा खटिएका छन्।

घर तथा टहरा पूर्ण रूपमा क्षति

पहिरोका कारण भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको दुईतले कच्ची घर पूर्ण रूपमा ध्वस्त भएको छ। त्यस्तै, भैरवी केसीका दुईवटा अस्थायी टहरा पनि पहिरोले बगाएको छ। प्रभावित परिवारहरू हाल आफन्त तथा सुरक्षित आश्रयस्थलमा बसिरहेका छन्।

राहत सामग्री वितरण सुरु

कर्णाली प्रदेश सरकारले पहिरोपीडितका लागि राहत सामग्री पठाएको छ। प्रदेश सचिव लक्ष्मी विकका अनुसार १५० थान त्रिपाल, १८५ थान ब्ल्याङ्केट, ५० किलो चिउरा, चार क्विन्टल चामल, २० सेट टेन्ट, दुई रोल कालो प्लास्टिक र दुई रोल पिफम जाजरकोट पठाइएको छ।

मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रभावित परिवारको तत्काल आवश्यकता पूरा गर्न राहत वितरण सुरु गरिएको र आवश्यकता अनुसार थप सहयोग उपलब्ध गराइने बताएका छन्। विद्यालयमा आश्रय लिएका पीडितहरूको स्वास्थ्य परीक्षणसमेत भइरहेको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए।

भेरी करिडोर सडक अझै अवरुद्ध

यसैबीच, भेरी करिडोर अन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डको नलगाड नगरपालिका–१० र ११ बीचको ताक्सुगाड क्षेत्रमा सडक भत्किँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। भेरी करिडोर योजना प्रमुख नरेशकुमार केसरीका अनुसार सडक पूर्ण रूपमा सञ्चालनमा आउन कम्तीमा एक सातासम्म लाग्न सक्छ।

अविरल वर्षा जारी रहेकाले प्रभावित क्षेत्रमा थप पहिरोको जोखिम कायम रहेको छ। प्रशासनले स्थानीयवासीलाई जोखिमयुक्त स्थानमा नबस्न तथा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor