रोल्पा । रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा बुधबार राति गएको पहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव शनिबार फेला परेको छ। यससँगै पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ भने एक जना अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार पहिरोमा परी बेपत्ता भएका थवाङ–५ कोटलबारा निवासी अन्दाजी ८० वर्षीय अजम्बर पुनमगरको शव प्युठानको सरुमारानी गाउँपालिका–२ ददेरीस्थित राप्ती नदीको बीच भागमा फेला परेको हो।
प्रहरीका अनुसार फेला परेको शव मृतकका भतिजा सुशील पुनले अजम्बर पुनमगरकै भएको सनाखत गरेका छन्।
पहिरोमा परी थवाङ–५ निवासी अन्दाजी नौ वर्षीय अशिम पुनमगर अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। उनको खोजी कार्य जारी रहेको छ।
लगातारको वर्षापछि आएको पहिरोले थवाङ गाउँपालिका–५ कोटलबारा क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। बेपत्ता व्यक्तिको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षाकर्मी तथा स्थानीयवासी परिचालन गरिएको छ।
प्रतिक्रिया