काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफ्नो तथा आफ्नो परिवारको नाममा रहेको बैंकिङ कारोबार र फोनको कल डिटेल्स रेकर्ड निष्पक्ष रूपमा जाँच गर्न चुनौती दिएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सम्बोधन गर्दै आईजीपी कार्कीले आफूमाथि आधारहीन आरोप लगाइएको दाबी गरेका हुन्।
निर्वाचनमा प्रयोग हुने प्रहरी पोशाक खरिदसम्बन्धी उजुरीमाथि छलफल गर्न आयोजित बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले पोशाक खरिद प्रक्रियालाई लिएर विभिन्न आरोप लगाएका थिए।
सांसद सुनारले आईजीपी कार्कीको घरबाट तीन करोड रुपैयाँ चोरी भएको समेत गम्भीर आरोप लगाएपछि कार्कीले त्यसको खण्डन गरेका छन्। उनले आफ्नो घरबाट तीन करोड रुपैयाँ हराएको भन्ने कुरा गलत भएको र त्यसमा आफ्नो परिवारको कुनै संलग्नता नरहेको स्पष्ट पारे।
कार्कीले आफ्नो बैंक विवरण अनधिकृत रूपमा बाहिर ल्याएर विभिन्न ठाउँमा वितरण गरिएको गुनासोसमेत गरे। उनले आफ्नो र परिवारको सम्पूर्ण वित्तीय कारोबार तथा कल डिटेल्स निष्पक्ष रूपमा छानबिन गर्न सम्बन्धित निकायलाई चुनौती दिएका हुन्।
बैठकमा कार्कीले प्रहरी संगठनलाई ७० वर्षको इतिहासमा समेत आवश्यक साधन र स्रोतसम्पन्न बनाउन नसकिएको गुनासो गरे। प्रहरी भएकै कारण सबै प्रकारका अनावश्यक लाञ्छना र अपजस सहनुपर्ने हो भन्दै उनले प्रश्न गरे।
राज्यको जिम्मेवारीमा बसेपछि आफूहरूले ‘कालकुट विष’ सरहका कठोर परिस्थितिसमेत बेहोर्नुपर्ने अवस्था आएको कार्कीले बताए।
प्रतिक्रिया