गोकर्ण जंगलको पर्खाल भत्काउन सुरु, गोकर्ण बाँध–सुन्दरीजल वैकल्पिक सडक विस्तारको बाटो खुल्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ श्रावण २०८३, मंगलवार ०६:३०

काठमाडौं। गोकर्णेश्वर नगरपालिका–४ मा पर्ने नेपाल ट्रष्टको गोकर्ण जंगल क्षेत्रको पर्खाल भत्काउने काम सुरु गरिएको छ। लामो समयदेखि स्थानीयले हटाउन माग गर्दै आएको उक्त पर्खाल काठमाडौं क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेको पहलमा डोजर लगाएर भत्काउन सुरु गरिएको हो।

पर्खालका कारण बागमती करिडोरअन्तर्गतको सडक विस्तारमा अवरोध हुँदै आएको बताइएको थियो। पर्खाल हटाइएपछि गोकर्ण बाँधदेखि सुन्दरीजलसम्म जोड्ने वैकल्पिक सडक विस्तार तथा स्तरोन्नतिको काम अघि बढ्ने अपेक्षा गरिएको छ।

सडक विस्तारका लागि गोकर्णेश्वर नगरपालिकाले चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ। उक्त बजेटबाट सडक चौडाइ विस्तार, स्तरोन्नति तथा आवश्यक पूर्वाधार निर्माणका काम गरिने बताइएको छ।

गोकर्णेश्वर–४ स्थित गोकर्ण बाँधको पूर्वपट्टिको बाटोदेखि सुन्दरीजलसम्म जोडिने यो सडक स्थानीय यातायातका लागि महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा हेरिएको छ। सडक विस्तारपछि स्थानीय बासिन्दाको आवतजावत सहज हुनुका साथै सुन्दरीजल क्षेत्रसम्मको पहुँच थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

लामो समयदेखि पर्खाल हटाउने विषयमा विभिन्न निकायबीच छलफल हुँदै आए पनि काम अघि बढ्न सकेको थिएन। पछिल्लो पहलपछि अब बागमती करिडोरको बाटो फराकिलो बनाउने प्रक्रिया अघि बढ्ने बताइएको छ।

स्थानीय स्रोतका अनुसार सरकारी स्काभेटर प्रयोग गरी पर्खाल भत्काउने काम सुरु गरिएको हो। पर्खाल हटाउने र सडक विस्तारको काम सम्पन्न भएपछि गोकर्ण–सुन्दरीजल क्षेत्रको यातायात व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor