वनफूलले ढकमक्क बनेको ढोरपाटनमा आन्तरिक पर्यटकको घुइँचो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ असार २०८३, सोमबार ०६:०७

ढोरपाटन । बागलुङको प्रसिद्ध ढोरपाटन उपत्यका यतिबेला रंगीचंगी वनफूलले ढकमक्क बनेर पर्यटकको प्रमुख आकर्षण बनेको छ। अग्ला पहाडले घेरिएको विशाल समथर मैदानमा राता, पहेँला, गुलाबी र बैजनी रङका वनफूल फुलेपछि ढोरपाटनको प्राकृतिक सौन्दर्य झन् मनमोहक बनेको हो।

देशका अधिकांश पर्यटकीय गन्तव्य बर्खायामसँगै सुनसान बन्दै गएका बेला ढोरपाटनमा भने प्राकृतिक दृश्यावलोकन गर्न आउने आन्तरिक पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढेको छ। नेपालको एकमात्र सिकार आरक्ष रहेको यस क्षेत्रमा पछिल्ला तीन वर्षयता वनफूलको आकर्षणका कारण दैनिक दुई सयभन्दा बढी पर्यटक पुग्न थालेका छन्। यसले स्थानीय होटल तथा पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव परेको छ।

होटल व्यवसायी सङ्घ ढोरपाटनका अध्यक्ष जीवन पुनका अनुसार विसं २०७५ सम्म ढोरपाटनमा पर्यटकको आगमन निकै न्यून थियो। त्यतिबेला ढोर बराह मन्दिरमा दर्शन गर्न आउने श्रद्धालुबाहेक अन्य पर्यटक खासै आउँदैनथे। तर पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ढोरपाटनका तस्बिर तथा भिडियो व्यापक रूपमा सार्वजनिक हुन थालेपछि काठमाडौं, पोखरा, नेपालगञ्ज, भैरहवा, चितवनलगायतका सहरबाट समूहगत रूपमा पर्यटक आउने क्रम बढेको उनले बताए।

स्थानीयले ‘राके फूल’ भनेर चिन्ने वनफूललाई सिकार आरक्षले नाकेफुली, बुकीफूल र मदानेफूललगायत नाम दिएको छ। पाटनभरि फुलेका रंगीचंगी फूलका बीचमा चरिरहेका घोडा, भेडाबाख्रा तथा गाईभैँसीको दृश्यले यहाँ पुग्ने जो–कोहीलाई लोभ्याउने गरेको छ।

चितवनको माडीबाट १३ जनाको समूहसहित ढोरपाटन पुगेका महेश थापाले सामाजिक सञ्जालमा देखेका तस्बिर र भिडियोले आफूहरूलाई यहाँ आउन प्रेरित गरेको बताए। उनले वास्तविक दृश्य सामाजिक सञ्जालमा देखेकोभन्दा अझ आकर्षक रहेको अनुभव सुनाए।

त्यस्तै, दाङको तुल्सीपुरबाट आएका कुलेन्द्र पनेरुले तराईको अत्यधिक गर्मी छल्न ढोरपाटन पुगेको बताउँदै यहाँको चिसो मौसम र प्राकृतिक सौन्दर्यले मन जितेको प्रतिक्रिया दिए। यद्यपि बुर्तिबाङदेखि ढोरपाटनसम्मको करिब ३२ किलोमिटर कच्ची सडकको दुरावस्थाका कारण यात्रामा निकै सास्ती व्यहोर्नुपरेको उनले गुनासो गरे।

पर्यटकको बढ्दो आगमनसँगै स्थानीय सरकार पनि उत्साहित देखिएको छ। ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले फल्लेघरभन्दा माथिको जीर्ण सडकखण्डलाई तत्काल व्यवस्थित गरिने जानकारी दिए। उनका अनुसार सडक कालोपत्रका लागि फराकिलो बनाउने काम जारी रहेकाले केही स्थानमा हिलो भए पनि पर्यटकको सहज आवागमनका लागि तत्काल ढुङ्गा–गिट्टी बिछ्याएर सडक सञ्चालनयोग्य बनाइनेछ।

स्थानीयका अनुसार सडक पूर्वाधारको थप विकास र प्रभावकारी प्रचारप्रसार गर्न सके ढोरपाटनमा विदेशी पर्यटकको आगमनसमेत उल्लेखनीय रूपमा बढ्ने सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor