विश्व वातावरण दिवसमा गोकर्णेश्वर लाइट एकेडेमीद्वारा गोकर्ण मन्दिर परिसर सरसफाइ विद्यार्थीको अग्रसरतामा वातावरण संरक्षणको सन्देश, २०० जनाको सहभागिता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०८३, शनिबार ०५:३७

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा गोकर्णेश्वरस्थित गोकर्णेश्वर लाइट एकेडेमी ले गोकर्ण मन्दिर तथा आसपासको क्षेत्रमा वृहत् सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ। वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा करिब २०० जनाको सहभागिता रहेको थियो।

विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रम गोकर्ण क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको गोकर्ण मन्दिर परिसर केन्द्रित गरिएको थियो। सहभागीहरूले मन्दिर क्षेत्र तथा वरपरका सार्वजनिक स्थानहरूमा छरिएका प्लास्टिकजन्य फोहोर, कागज, बोतल तथा अन्य फोहोर सामग्री संकलन गरी वातावरण सफा बनाउने अभियान सञ्चालन गरेका थिए।

कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष जयाराम महत, विद्यालयका प्रिन्सिपल सौर्य आचार्य, पत्रकार मुकुन्द ढुंगाना, विभिन्न शिक्षक, पत्रकार, कलाकार तथा स्थानीय समाजसेवीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष जयाराम महतले वातावरण संरक्षण कुनै एक दिनको अभियान मात्र नभई दैनिक जीवनशैलीको हिस्सा बन्नुपर्ने बताए। उनले विद्यार्थीहरूले देखाएको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।

विद्यालयका प्रिन्सिपल सौर्य आचार्यले विद्यार्थीहरूलाई पुस्तकमा सीमित ज्ञानभन्दा बाहिर समाज र वातावरणप्रतिको जिम्मेवारीबोध गराउने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको बताए। उनले स्वच्छ वातावरण नै स्वस्थ जीवनको आधार भएकाले वातावरण संरक्षणमा सबैको समान भूमिका आवश्यक रहेको धारणा राखे।

पत्रकार मुकुन्द ढुंगानाले वातावरणीय संकट विश्वव्यापी चुनौतीका रूपमा देखापरिरहेको उल्लेख गर्दै स्थानीय स्तरबाट सुरु हुने यस्ता अभियानले दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउन सक्ने बताए। उनले विद्यार्थीहरूको सहभागिता र उत्साहले आगामी पुस्ता वातावरणप्रति सचेत बन्दै गएको सन्देश दिएको उल्लेख गरे।

कार्यक्रमका क्रममा सहभागीहरूले प्लास्टिक प्रदूषण न्यूनीकरण, फोहोर व्यवस्थापन, हरित वातावरण निर्माण तथा प्राकृतिक सम्पदाको संरक्षणसम्बन्धी जनचेतनामूलक सन्देशसमेत प्रवाह गरेका थिए।

विद्यालयका विद्यार्थीहरूले वातावरण जोगाऔँ, फोहोर व्यवस्थापन गरौँ, स्वच्छ समाज निर्माण गरौँ भन्ने नारासहित सरसफाइ अभियान सञ्चालन गरेका थिए। सहभागीहरूले वातावरण संरक्षणका लागि प्रत्येक नागरिकले आफ्नो घर, विद्यालय तथा समुदायबाटै अभियान सुरु गर्नुपर्नेमा जोड दिएका थिए।

गोकर्णेश्वर लाइट एकेडेमीले वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ। विश्व वातावरण दिवसको अवसरमा सम्पन्न यस अभियानले स्थानीय समुदायमा वातावरणीय सचेतना अभिवृद्धि गर्नुका साथै स्वच्छ र हरित समाज निर्माणतर्फ सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ रहेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

slot gacor