मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित भएको छ। प्रदेशसभाको आज बसेको बैठकले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि दर्ता भएका संशोधन प्रस्तावहरू अस्वीकृत गर्दै नीति तथा कार्यक्रम पारित गरेको हो।
प्रदेशसभा सदस्यहरू रत्नप्रसाद ढकाल, लक्ष्मी घिमिरे, सुष्मा भुजेल न्यौपाने तथा युवराज चौलागाईंले नीति तथा कार्यक्रमलाई थप प्रभावकारी र जनमुखी बनाउन आवश्यक रहेको भन्दै छुट्टाछुट्टै संशोधन प्रस्ताव दर्ता गराएका थिए। तर ती सबै प्रस्तावहरू बहुमतले अस्वीकृत भएका थिए।
मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशसभाको सोमबार बसेको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सोही प्रस्तावमाथि दुई दिनसम्म प्रदेशसभामा व्यापक छलफल भएको थियो।
छलफलका क्रममा प्रदेशसभाका ६४ जना सदस्यहरूले नीति तथा कार्यक्रमका विविध पक्षमाथि आफ्नो धारणा राखेका थिए। सदस्यहरूले विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार तथा सुशासनसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
आजको बैठकमा उठेका जिज्ञासा तथा प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री बानियाँले प्रदेश सरकार जनअपेक्षा अनुरूप विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताए। उनले नीति तथा कार्यक्रमका आधारमा आगामी असार १ गते प्रस्तुत गरिने बजेट समानुपातिक, निष्पक्ष, पारदर्शी तथा जनमुखी हुने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री बानियाँले प्रदेशका सबै जिल्ला, स्थानीय तह तथा समुदायलाई समेटेर सन्तुलित विकासको अवधारणा अनुसार बजेट निर्माण गरिने उल्लेख गर्दै जनताको जीवनस्तर सुधार, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिने बताए।
नीति तथा कार्यक्रम पारित भएसँगै अब प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट निर्माण प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ। प्रदेश सरकारले आगामी असार १ गते बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
यसैबीच, प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभाको अर्को बैठक जेठ ३१ गते अपराह्न १ बजे बस्ने गरी स्थगित गरिएको जानकारी दिएकी छन्।
प्रतिक्रिया