काठमाडौं । वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल ले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभव र परिपक्वता बढिरहेको रूपमा बुझ्न आग्रह गरेकी छन् ।
रञ्जना सिनेप्लेक्स मा आयोजित गीत गयो गयो उमेर, बाँचौँ रमेर को श्रव्यदृश्य सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री भुसालले उमेर, स्वास्थ्य र जीवनप्रतिको सकारात्मक दृष्टिकोणबारे आफ्ना अनुभव साझा गरिन् ।
धार्मिक तथा सामाजिक दायित्व, बढ्दो उमेर, स्वास्थ्य अवस्था र विदेशिएका सन्ततिप्रतिको चिन्तालाई विषयवस्तु बनाइएको उक्त गीतले जीवनलाई सकारात्मक रूपमा बाँच्न प्रेरित गर्ने उनले बताइन् ।
भुसालले भनिन्, “बढ्दो उमेरले हामीलाई अनुभवी बनाएको छ । आफ्नो स्वास्थ्यको ख्याल राख्न सके उमेरको सुन्दर पक्ष देख्न सकिन्छ । म अहिले ७५ वर्ष पुगेँ, तर मेरो कामले मलाई अनुभवी बनाएको छ, बुढो होइन ।”
उनले कलाकारिताको सुरुआती दिन सम्झँदै समाज र परिवारबाट साथ पाउन निकै कठिन भएको अनुभव पनि सुनाइन् । “त्यो बेला अभिनय क्षेत्रमा आउँदा प्रशंसा कम र आलोचना बढी सुन्नुपर्थ्यो,” उनले भनिन्, “तर अहिले परिवारले नै कला र कलाकारलाई सम्मान गर्न थालेको देख्दा खुसी लाग्छ ।”
कार्यक्रममा अभिनेत्री मिथिला शर्मा ले गायिका लक्ष्मी भुजेल महर्जन को आत्मविश्वास र साहसको प्रशंसा गरिन् ।
उनले भनिन्, “उमेरले मानिसलाई रोक्दैन भन्ने उदाहरण लक्ष्मीजी हुनुहुन्छ । हामी अहिले पनि आफ्नो काममा सक्रिय छौँ, त्यसैले उमेरसँग डराउने होइन, रमाउने हो भन्ने सन्देश यो गीतले दिएको छ ।”
गायिका महर्जनले बाल्यकालदेखि नै गायनमा रुचि भए पनि पारिवारिक जिम्मेवारीका कारण निरन्तरता दिन नसकेको बताइन् । पछिल्लो समय परिवारको साथ र प्रेरणाले आफ्नो सपना पूरा गर्न सकेको उनले सुनाइन् ।
उनका अनुसार दिदी सुशीला भुजेल ले लेखेको गीतका लागि सुरुमा अर्को गायिका खोजिएको थियो । तर सङ्गीतकार शिव शाही ले आफ्नै स्वर उपयुक्त हुने सुझाव दिएपछि आफूले गीत गाएको उनले बताइन् ।
“मैले त सुरुमा डेमो स्वर मात्र दिएको थिएँ,” महर्जनले भनिन्, “तर सबैले मेरो स्वर नै उपयुक्त हुन्छ भनेपछि यो यात्राको सुरुआत गरेकी हुँ ।”
सार्वजनिक गरिएको गीतको भिडियोमा अभिनेत्री मिथिला शर्मासँगै कृष्णभक्त महर्जन, अर्जुन रञ्जित, जिनेन्द्रमान जोशी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सङ्गीतकार शिव शाहीको सङ्गीतमा तयार भएको गीतको भिडियोमा भवानी शिलाकार ले छायाङ्कन, प्रिया कार्की ले शृङ्गार तथा रवि सायमी ले सम्पादन तथा निर्देशन गरेका छन् ।
प्रतिक्रिया