काठमाडौं । गोकर्णेश्वर नगरपालिका यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा हासिल गर्दै देशभरकै स्थानीय तहमध्ये नमुना नगरपालिका बन्न सफल भएको छ। नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूबाट सहभागी विद्यार्थीमध्ये ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएपछि गोकर्णेश्वरले सरकारी विद्यालय पनि गुणस्तरीय र प्रतिस्पर्धी बन्न सक्छन् भन्ने सशक्त सन्देश दिएको हो।
नगरपालिकाका अनुसार शिक्षाको गुणस्तर सुधार, नियमित अनुगमन, शिक्षक क्षमता विकास, प्रविधिमैत्री शिक्षण पद्धति तथा अभिभावक–विद्यालय सहकार्यका कारण यस वर्ष उल्लेखनीय नतिजा हासिल भएको हो। सामुदायिक विद्यालयप्रतिको नकारात्मक धारणा परिवर्तन गर्दै सरकारी विद्यालयमा पनि उत्कृष्ट शिक्षा सम्भव रहेको प्रमाण गोकर्णेश्वरले प्रस्तुत गरेको नगरपालिकाको दाबी छ।
नगर प्रमुख दीपक रिसाल ले यो सफलता सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रमा खटिएका जनशक्तिको सामूहिक मेहनतको परिणाम भएको बताएका छन्।
नगर प्रमुख रिसालले भने, “सरकारी विद्यालय कमजोर हुन्छन् भन्ने पुरानो सोचलाई गोकर्णेश्वरले तोडेको छ। यदि योजना, प्रतिबद्धता र निरन्तर मेहनत भयो भने सामुदायिक विद्यालयले पनि उत्कृष्ट नतिजा दिन सक्छन् भन्ने प्रमाणित भएको छ।”
उनले शिक्षालाई नगरपालिकाको पहिलो प्राथमिकतामा राखेर काम गरिएको उल्लेख गर्दै आगामी दिनमा अझ गुणस्तरीय, प्रविधिमैत्री र व्यवहारिक शिक्षामा जोड दिइने बताए। उनले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई नगरपालिकाले विशेष सम्मान र प्रोत्साहन गर्ने जानकारी पनि दिए।
नगरपालिकाले विद्यालयहरूमा नियमित शैक्षिक अनुगमन, अतिरिक्त कक्षा सञ्चालन, मनोसामाजिक परामर्श, डिजिटल शिक्षण सामग्री तथा अनुशासित शैक्षिक वातावरण निर्माणमा विशेष ध्यान दिँदै आएको जनाएको छ।
शिक्षाविद्हरूले गोकर्णेश्वर नगरपालिकाको यो उपलब्धिलाई देशभरका स्थानीय तहका लागि प्रेरणादायी उदाहरणका रूपमा लिएका छन्। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकारको सक्रियता प्रभावकारी देखिएको भन्दै यस मोडेललाई अन्य स्थानीय तहले पनि अनुसरण गर्नुपर्ने सुझाव दिइएको छ।
प्रतिक्रिया