“वडा अध्यक्षसँग बालबालिका तथा विद्यार्थी” कार्यक्रम आज हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०८३, मंगलवार ०७:१६

काठमाडौं। बूढानीलकण्ठ नगरपालिका–११ को आयोजनामा तथा शुभम मल्टिमिडियाको सहजीकरणमा आज “वडा अध्यक्षसँग बालबालिका तथा विद्यार्थी” कार्यक्रम ग्राम शिक्षा मन्दिर माध्यमिक विद्यालयको सभाहलमा आयोजना हुँदैछ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा ठूलो संख्यामा विद्यार्थीहरूको सहभागिता रहनेछ।

कार्यक्रमको मुख्य उद्देश्य बालबालिकाको आवाज सुन्नु, उनीहरूका समस्या तथा सुझाव बुझ्नु र उनीहरूलाई आत्मविश्वासका साथ भविष्य निर्माणतर्फ प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै वडा अध्यक्ष राजु अधिकारीले बालबालिकाको क्षमता विकास र उनीहरूको आवाजलाई नीति निर्माण प्रक्रियामा समेट्नु स्थानीय सरकारको प्रमुख जिम्मेवारी भएको बताए।

“बालबालिका राष्ट्रका भविष्यका कर्णधार हुन्। उनीहरूको विचार, आवश्यकता र सुझावलाई सुन्नु नै दिगो विकासको आधार हो,” वडा अध्यक्ष अधिकारीले भने।

उनले यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास, नेतृत्व क्षमता र करियरप्रतिको स्पष्ट दृष्टिकोण विकास गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रशिक्षक शंकर प्रधानले प्रेरणादायी तथा करियर मार्गदर्शन सत्र सञ्चालन गर्ने कार्यक्रम रहेको छ। साथै विद्यार्थीहरूले आफ्ना समस्या, अनुभव र सुझावहरू प्रत्यक्ष रूपमा राख्ने अवसर पाउनेछन्।

कार्यक्रमको सहजीकरण शुभम मल्टिमिडियाले गर्नेछ।

स्थानीय तहले यस्ता कार्यक्रमलाई निरन्तर रूपमा विस्तार गर्दै बालमैत्री शासन प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया

Leave a Reply