भ्युज बढाउन आफ्नै अपहरणको नाटक: ब्राजिलकी इन्फ्लुएन्सर पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ बैशाख २०८३, बुधबार ०५:५५

काठमाडौं। भ्युज र फलोअर्स बढाउने उद्देश्यले आफ्नै अपहरणको नाटक रचेकी एक ब्राजिलियन सोशल मिडिया इन्फ्लुएन्सर पक्राउ परेकी छन्।

२७ वर्षीया मोविकी फ्रागा ले गत वर्ष अप्रिलमा आफू र आफ्ना श्रीमान् लुकास माथि हतियारधारी समूहले आक्रमण गरी अपहरण गरेको दाबी गरेकी थिइन्।

तर, घटना भएको एक वर्षपछि प्रहरीले अनुसन्धान गर्दै उनलाई पक्राउ गरेपछि यो सबै ‘पीआर स्टन्ट’ भएको खुलासा भएको हो।

New York Post का अनुसार फ्रागाले आफ्ना ४८ हजारभन्दा बढी फलोअर्सलाई भिडियोमार्फत आफूलाई जंगलमा बन्धक बनाइएको र फिरौती नदिए यातना दिने धम्की आएको दाबी गरेकी थिइन्।

उनले आफ्ना श्रीमानमाथि कुटपिट भएको र नगद बुझाएपछि मात्रै मुक्त भएको कथा सुनाउँदै विभिन्न मिडियामा अन्तर्वार्ता समेत दिएकी थिइन्।

यस घटनाको सत्यता पत्ता लगाउन प्रहरीले ‘अपरेशन स्मोकस्क्रिन अफ लाइक्स’ नामक विशेष अभियान सञ्चालन गरेको थियो, जसमा करिब ३० जना प्रहरी अधिकारीहरू संलग्न थिए। अनुसन्धानका क्रममा जासूस क्ले एन्डरसनले यो घटना पूर्व-योजनाबद्ध षड्यन्त्र भएको प्रमाण फेला पारेका थिए।

प्रहरीका अनुसार फ्रागाले मिडियाको ध्यान तान्न र सामाजिक सञ्जालमा लोकप्रियता बढाउन यस्तो नाटक रचेकी थिइन्।

अचम्मको कुरा के भने, उनका श्रीमान लुकास भने यो नाटकबारे पूर्ण रूपमा अनभिज्ञ थिए र उनले घटनालाई वास्तविक अपहरण नै ठानेका थिए।

पक्राउपछि फ्रागा अपहरणमा संलग्नमध्ये एक व्यक्तिसँग निरन्तर सम्पर्कमा रहेको पनि खुलेको छ। प्रहरीका अनुसार यस घटनामा उनीसहित अन्य तीन जना पनि संलग्न थिए।

सामाजिक सञ्जालमा लोकप्रियता कमाउन आफ्नै परिवार र कानुनलाई भ्रमित बनाएको यो घटनाले अहिले विश्वभर चर्चा र आलोचना बटुलिरहेको छ।

प्रतिक्रिया

Leave a Reply