काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ले सरकारी कामकाजमा कुनै पनि बहाना बनाएर ढिलासुस्ती नगर्न कर्मचारीहरूलाई स्पष्ट निर्देशन दिएका छन्।
शुक्रबार शपथ ग्रहणलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गरेपछि उनले कर्मचारीहरूलाई आफ्नो सरकारको कार्यशैलीअनुसार अघि बढ्न आग्रह गरेका हुन्। “हामीले जुन स्पिरिटमा सरकार गठन गरेका छौं, तपाईंहरूले पनि त्यही स्पिरिट समात्नुपर्छ,” उनले भनेका छन्।
प्रधानमन्त्री शाहले आवश्यक परे नियम–कानुन संशोधन गर्न सरकार सक्षम रहेको उल्लेख गर्दै कानुनी जटिलता देखाएर काम रोकिनु नहुने बताए। “नियम–कानुन परिवर्तन गर्नुपर्ने भए हामी ल्याउन सक्छौं, त्यसलाई बहाना बनाएर काम रोक्ने होइन,” उनको भनाइ उद्धृत गर्दै एक सचिवले जानकारी दिए।
उनले विशेष रूपमा कुनै पनि विषयलाई कारण देखाएर ढिलाइ नगर्न चेतावनी दिएका छन्। “कुनै पनि कुरा देखाएर ढिलासुस्ती गर्न पाइँदैन,” उनले प्रष्ट पारे।
प्रधानमन्त्रीको यो निर्देशनसहितको ब्रिफिङ भने छोटो समयमै सम्पन्न भएको थियो। स्रोतका अनुसार करिब पाँच मिनेटको सम्बोधनमा उनले सरकारको प्राथमिकता स्पष्ट पार्दै कर्मचारीहरूलाई परिणाममुखी ढंगले काम गर्न आग्रह गरेका थिए।
प्रतिक्रिया