‘ग्रान्ड रिफर्म’को एजेन्डासहित कांग्रेस पुनर्जागरणमा जाने गगन थापाको घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ चैत्र २०८२, बुधबार ०६:२५

काठमाडौं । गगनकुमार थापा ले पार्टीभित्र व्यापक शुद्धीकरण र संरचनात्मक परिवर्तनका लागि ‘ग्रान्ड रिफर्म’ (वृहत सुधार) को योजना अघि सारेका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारीस्वरूप दिएको राजीनामा केन्द्रीय समितिले अस्वीकृत गरेपछि मंगलबार पहिलो पटक केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै उनले अब पार्टीको यात्रा महाधिवेशन र पुनर्जागरणतर्फ केन्द्रित हुने बताएका हुन्।

शुद्धीकरण र संरचनात्मक सुधारमा जोड

थापाले कांग्रेसभित्र ‘सानो सुधार होइन, ग्रान्ड रिफर्म’ आवश्यक रहेको उल्लेख गर्दै सिद्धान्तहीन सम्झौता र राज्यशक्तिको दुरुपयोगजस्ता प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए। पार्टीको संरचना सुधार गर्दै विभिन्न पुस्ताको विविधतालाई शक्तिमा रूपान्तरण गर्ने र कांग्रेसलाई केवल ‘इलेक्सन मेसिन’ नभई सामाजिक आन्दोलनका रूपमा पुनर्जीवित गर्ने उनको योजना छ।

राजीनामा र जवाफदेहिताको सन्देश

निर्वाचनमा हारको जिम्मेवारी लिँदै आफू ‘टिमको क्याप्टेन’ भएको नाताले जवाफदेहिता स्वीकार गरेको उनले स्पष्ट पारे। यद्यपि, केन्द्रीय समितिको निर्णयलाई सम्मान गर्दै अब १५औँ महाधिवेशनसम्म पार्टीलाई नेतृत्व गर्ने जिम्मेवारी पूरा गर्ने बताए।

भ्रष्टाचार छानबिनको माग

थापाले २०४६ सालपछिका सबै सार्वजनिक पदधारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गरे। गिरीबन्धु, ललिता निवास र वाइडबडी जस्ता प्रकरणमा निष्पक्ष अनुसन्धान र दोषीलाई कारबाही हुनुपर्नेमा उनले जोड दिए।

संविधान संशोधन र राष्ट्रिय सहमति

संविधानका आधारभूत संरचना नछेडी सुशासन र प्रभावकारिताका लागि संशोधन आवश्यक रहेको उल्लेख गर्दै उनले विज्ञसहितको समिति गठन गरी राष्ट्रिय सहमति जुटाउने योजना प्रस्तुत गरे।

डिजिटल सदस्यता र ‘ल्याटरल इन्ट्री’

पार्टी सदस्यता प्रणालीलाई डिजिटल बनाउँदै प्रत्येक सदस्यलाई ‘कांग्रेस आइडी’ प्रदान गर्ने र विभिन्न क्षेत्रका विज्ञलाई ‘ल्याटरल इन्ट्री’मार्फत नेतृत्वमा ल्याउने प्रस्ताव उनले अघि सारे।

‘कांग्रेस लिडरसिप एकेडेमी’

सार्वजनिक पदमा उम्मेदवार बन्न चाहनेले अनिवार्य प्रशिक्षण लिनुपर्ने व्यवस्था गर्दै ‘कांग्रेस लिडरसिप एकेडेमी’ स्थापना गर्ने योजना पनि उनले सार्वजनिक गरे।

१५औँ महाधिवेशनको कार्यतालिका

थापाले २०८३ भदौ २४–२६ गते १५औँ केन्द्रीय महाधिवेशन गर्ने प्रस्तावसहित वडा, नगर, क्षेत्र र प्रदेश तहका अधिवेशनहरूको विस्तृत कार्यतालिका पनि प्रस्तुत गरेका छन्।

अनुशासन र एकताको सन्देश

पार्टीभित्र अनुशासन कायम गर्न चेतावनी दिँदै उनले आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने प्रवृत्ति सह्य नहुने बताए। सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै उनले कांग्रेसलाई भरोसायोग्य पार्टी बनाउने प्रतिबद्धता जनाए।

प्रतिपक्षको रचनात्मक भूमिका

नेपाली कांग्रेस ले संघीय प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने उल्लेख गर्दै थापाले नयाँ सरकारलाई आवश्यक सहयोग र दबाब दुवै दिने बताएका छन्। साथै लोकतन्त्र, प्रेस स्वतन्त्रता र न्यायपालिकाको स्वायत्ततामा कुनै सम्झौता नहुने स्पष्ट पारे।

प्रतिक्रिया

Leave a Reply