नयाँ सरकारको स्वागतमा सिंहदरबार सजिँदै, मन्त्रालयहरू तयारीमा व्यस्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० चैत्र २०८२, मंगलवार ०६:३७

काठमाडौँ। सिंहदरबार भित्रका अधिकांश मन्त्रालयहरू नयाँ मन्त्रीको आगमनलाई लक्षित गर्दै सजावट र आन्तरिक तयारीमा जुटेका छन्। मन्त्रालयका गेटदेखि कार्यकक्षसम्म ‘इनडोर प्लान्ट’ र फूलका गमलाले हरियाली थपिएको छ भने केही स्थानमा मन्त्रीको कार्यकक्षलाई विशेष रूपमा सिँगारिएको छ।

वसन्त ऋतुमा फुलेका फूलहरूसँगै गरिएको सजावटले सिंहदरबार परिसरलाई अझ आकर्षक बनाएको देखिन्छ। निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको र सांसदहरूको शपथ चैत १२ गते तय भइसकेकाले केही दिनमै नयाँ सरकार गठन हुने तयारीसँगै मन्त्रालयहरू सक्रिय बनेका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय को भवन जेनजी आन्दोलनका क्रममा भएको आगलागीपछि पुनः मर्मत र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। सूचना अधिकारी मधुप्रसाद घिमिरे का अनुसार जलेका तारहरू व्यवस्थापन भइसकेका छन् र भवन पुनः सञ्चालनका लागि तयार हुँदैछ।

यसैगरी युवा तथा खेलकुद मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय समेत नयाँ मन्त्रीको आगमनसँगै सेवाग्राहीको चाप व्यवस्थापन गर्न आन्तरिक तयारीमा जुटेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय भने आगलागीबाट क्षतिग्रस्त भवनको पुनर्निर्माणसँगै अस्थायी संरचनाबाट सेवा सञ्चालन गरिरहेको छ। प्रवक्ता डा. प्रकाश बुढाथोकी का अनुसार नयाँ मन्त्री आएपछि मन्त्रालयको कामकाज अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय का सहसचिव नीता पोखरेल अर्याल ले मन्त्रालय संरचनागत रूपमा तयार रहेकाले विशेष तयारी आवश्यक नरहेको बताए पनि नीतिगत निर्णयका लागि मन्त्रीको पर्खाइ भइरहेको जनाइन्।

सिंहदरबारका कर्मचारीहरूका अनुसार नयाँ मन्त्रीको आगमनसँगै मन्त्रालयहरूमा चहलपहल बढ्ने र सेवाग्राहीको चाप समेत बढ्ने भएकाले आवश्यक तयारी समयमै सम्पन्न गरिएको छ।

प्रतिक्रिया

Leave a Reply