काठमाडौं । नेपाली कांग्रेस ले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ।
जारी केन्द्रीय समिति बैठकमा जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न ध्यानाकर्षण गराउने विषय उठाइएको हो।
पार्टीका महामन्त्री प्रदीप पौडेल ले भने, “केन्द्रीय समिति बैठकले उक्त आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निष्कर्ष निकालेको छ। आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारीको विषय पनि हो।”
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको छानबिनका लागि सरकारले उक्त आयोग गठन गरेको थियो। आयोगले छ महिनाभन्दा बढी समय लगाएर प्रतिवेदन तयार गरी प्रधानमन्त्रीसमक्ष बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन।
प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विभिन्न स्थानमा प्रदर्शनसमेत भइरहेका छन्।
प्रतिक्रिया