काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रधानमन्त्री सुशीला कार्की सँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक रूपमा निर्वाचन सम्पन्न भई मुलुकले शान्तिपूर्ण लोकतान्त्रिक निकास पाएको भन्दै बधाई तथा धन्यवाद व्यक्त गरे।
उनले भने, “समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यस सफलताका लागि सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्रिपरिषद् र सचिवालय टिमलाई धन्यवाद दिन चाहन्छु।”
लामिछानेले प्रधानमन्त्रीको दृढता र नेतृत्वका कारण विगतभन्दा शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्भव भएको उल्लेख गर्दै थपे, “यहाँको चट्टानी अडान र दृढताले मुलुकलाई निकास दिलायो। छोटो समयमै विश्वलाई चकित पार्ने गरी लोकतान्त्रिक अवतरण सम्भव भएको छ।”
उनले आगामी दिनमा पनि प्रधानमन्त्रीको मार्गदर्शन आवश्यक रहने उल्लेख गर्दै आफ्नो पार्टी सरकारप्रति सकारात्मक रहेको स्पष्ट पारे।
जवाफमा प्रधानमन्त्री सुशीला कार्की ले रास्वपाको निर्वाचन सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर जनताको अपेक्षा पूरा गर्न आग्रह गरिन्।
उनले भनिन्, “अहिले देशले धेरै अपेक्षा गरेको छ। युवाहरूले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्छ। चुनौती धेरै छन्, तर इमानदारीपूर्वक काम गरे नतिजा अवश्य आउँछ।”
प्रधानमन्त्री कार्कीले आलोचनालाई काममार्फत जवाफ दिन सुझाव दिँदै सरकार अन्तिम दिनसम्म प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिइन्।
भेटमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो। सभापति लामिछानेले वर्तमान सरकारका निर्णयप्रति आफ्नो पार्टीको कुनै आपत्ति नरहेको उल्लेख गर्दै भने, “सरकारले अन्तिम समयसम्म काम गर्न पाउँछ, यसका निर्णयहरू हामी शिरोधार्य गर्छौँ।”
यसैबीच उनले पोर्चुगलमा रहेका नेपाली विद्यार्थीका समस्या, मध्यपूर्वमा बढ्दो तनावका बीच नेपाली श्रमिकको सुरक्षा तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनका विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रतिक्रिया