काठमाडौं। डोनाल्ड ट्रम्प ले इरानसँगको युद्धलाई लिएर फेरि एकपटक ठूलो दाबी गरेका छन्। ट्रुथ सोसल मा पोस्ट गर्दै उनले इरानविरुद्धको सैन्य अभियान चाँडै अन्त्य गर्नेबारे विचार गरिरहेको बताएका हुन्।
उनले लेखेका छन्, “हामी इरानको आतङ्की शासनको सन्दर्भमा मध्यपूर्वमा हाम्रा ठूला सैन्य अभियानहरू बिस्तारै समाप्त गर्नेबारे सोचिरहेका छौँ, किनकि हामी आफ्ना लक्ष्यहरू प्राप्त गर्ने निकै नजिक छौँ।”
तर अर्कोतर्फ अमेरिकाले इरानमा स्थल सेना उतार्ने सम्भावनाबारे पनि चर्चा चलिरहेको छ। विभिन्न रिपोर्टहरू अनुसार पेन्टागन का अधिकारीहरूले यस्तो सम्भावनामा तयारी गरिरहेको जनाइएको छ।
युद्ध अन्त्यको सन्दर्भमा ट्रम्पले स्ट्रेट अफ होर्मुज को सुरक्षाबारे पनि टिप्पणी गरेका छन्। उनले भने, “यसको निगरानी र सुरक्षाको जिम्मा ती देशहरूले लिनुपर्छ, जसले यसको प्रयोग गर्छन्।”
विश्वको करिब २० प्रतिशत तेल यही मार्गबाट ओसारपसार हुने अनुमान छ। ट्रम्पले आवश्यक परे अमेरिकाले सहयोग गर्न सक्ने तर इरानको खतरा समाप्त भएपछि यस्तो आवश्यकता नपर्ने बताएका छन्।
ट्रम्पले इरानविरुद्धको युद्धमा हासिल उपलब्धिहरूको पनि उल्लेख गर्दै इरानको मिसाइल क्षमता कमजोर बनाइएको र सैन्य औद्योगिक संरचना ध्वस्त पारिएको दाबी गरेका छन्। साथै इरानले परमाणु हतियार बनाउन नसक्ने सुनिश्चित गरिएको उनको भनाइ छ।
यसका साथै उनले मध्यपूर्वमा अमेरिकाले आफ्ना सहयोगी राष्ट्रहरू—इजरायल, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत लगायतलाई उच्चस्तरीय सुरक्षा प्रदान गरिरहेको बताएका छन्।
यता CBS को रिपोर्ट अनुसार, अमेरिकी सैन्य अधिकारीहरू इरानमा स्थल सेना तैनाथ गर्ने सम्भावनाबारे विस्तृत तयारीमा छन्। यदि यस्तो कदम चालियो भने इरानी सैनिकहरूलाई नियन्त्रणमा लिएपछि व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको बताइएको छ।
शुक्रबार ट्रम्पले आफू युद्धविरामभन्दा अभियानलाई बिस्तारै अन्त्य गर्ने पक्षमा रहेको बताएका थिए। उनले “कहीँ पनि” स्थल सेना पठाउने योजना नरहेको बताए पनि आवश्यक परे त्यसबारे अग्रिम जानकारी नदिने संकेत दिएका छन्।
प्रतिक्रिया