कपिलवस्तु । महाराजगञ्ज नगरपालिका मा दुई समुदायबीच धार्मिक विषयलाई लिएर उत्पन्न विवादपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। शनिबार बिहान सुरु भएको विवाद उग्र बन्दै गएपछि सुरक्षा व्यवस्था कडा पार्दै निषेधाज्ञा लागू गरिएको हो।
प्रहरीका अनुसार मुस्लिम समुदाय ईद को अवसरमा मस्जिदमा नमाज पढिरहेका बेला नजिकै रहेको काली मन्दिर मा ठूलो स्वरमा भजन बजाइएको विषयलाई लिएर विवाद सुरु भएको थियो। भजनको आवाज कम गर्न गरिएको आग्रह बेवास्ता भएपछि तनाव चर्किएको जनाइएको छ।
विवाद बढ्दै जाँदा दुवै समुदायबीच ढुंगामुढा समेत भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले लाठीचार्ज गर्नुका साथै केही राउन्ड अश्रुग्यास प्रहार गरेका थिए।
यसैबीच प्रदर्शनकारीहरूले तौलिहवा–बहादुरगञ्ज सडक खण्ड अन्तर्गत गैंडहवामा टायर बालेर सडक अवरुद्ध गरेका थिए। घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको प्रशासनले जनाएको छ।
प्रतिक्रिया