शाह नेतृत्वको सरकारका लागि मन्त्री चयनमा रास्वपाको आन्तरिक छलफल तीव्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ चैत्र २०८२, बिहीबार ०६:५८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाह नेतृत्वको सरकार गठनका लागि मन्त्री चयनबारे आन्तरिक छलफल तीव्र पारेको छ।

पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच सरकार गठनबारे निरन्तर परामर्श भइरहेको स्रोतले जनाएको छ। प्रभावकारी र परिणाममुखी सरकार गठन गर्ने तथा सक्षम सांसदलाई मात्रै मन्त्रिपरिषद्मा सहभागी गराउने विषयमा सहमति भएको बताइएको छ।

सहमति अनुसार सरकार सञ्चालनको नेतृत्व शाहले गर्नेछन् भने पार्टीको समग्र जिम्मेवारी लामिछानेले सम्हाल्नेछन्।

प्रधानमन्त्रीका उम्मेदवार शाह क्याबिनेट गठन र पदभार ग्रहणपछिका प्राथमिकता तय गर्न जुटेका छन्। प्रारम्भिक समझदारीअनुसार अर्थमन्त्रीमा पार्टी उपसभापति तथा अर्थशास्त्री स्वर्णिम वाग्ले नियुक्त हुने लगभग निश्चित रहेको जनाइएको छ। यस्तै, परराष्ट्रमन्त्रीमा विदेश विभाग प्रमुख शिशिर खनाल रहने सम्भावना उच्च छ।

स्रोतका अनुसार अर्थ मन्त्रालयको जिम्मेवारीबारे प्रारम्भिक चरणमा केही मतभेद देखिए पनि अन्ततः सहमति जुटेको छ। रक्षामन्त्रालय भने प्रधानमन्त्री शाहले आफैंसँग राख्ने तयारी गरिएको छ।

गृह मन्त्रालयबारे पनि छलफल जारी छ। कतिपयले बहालवाला गृहमन्त्री ओमप्रकाश अर्याललाई निरन्तरता दिन सकिने आकलन गरे पनि शाह निकट स्रोतले त्यस्तो योजना नरहेको जनाएको छ। आवश्यकता परे गृह मन्त्रालय प्रधानमन्त्री मातहतमै राख्ने विकल्पमा समेत छलफल भइरहेको छ।

शाह नेतृत्वको मन्त्रिपरिषद् अधिकतम १४ सदस्यीय हुने बताइएको छ। क्षेत्रीय सन्तुलन र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने गरी तयारी भइरहेको जनाइएको छ।

सम्भावित मन्त्रीहरूको सूचीमा डीपी अर्याल, सुदन गुरुङ, सस्मित पोखरेल, सुनिल लम्साल, मिग्मा डेभिड शेर्पा, अमरेश सिंह, विराजभक्त श्रेष्ठ, प्रतिभा रावल, सोविता गौतम र आशिष गजुरेल रहेका छन्।

प्रधानमन्त्रीका रूपमा शाहले चैत १४ भित्र शपथ लिने तयारी रहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply