काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीभित्र एकता, निडरता र देश केन्द्रित राजनीति आवश्यक रहेको बताएका छन्।
बुधबार पार्टीको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन सम्बोधन गर्दै उनले गुटगत राजनीति त्याग्न आग्रह गर्दै सबै कार्यकर्ता एउटै छानामुनि एकताबद्ध हुनुपर्नेमा जोड दिएका हुन्।
लामिछानेले पुराना राजनीतिक दललाई जस्तै लामो समय जनताले अब कुर्न नसक्ने उल्लेख गर्दै तत्काल परिणाम दिनुपर्ने आवश्यकता औँल्याए। “अब आँखामा देखिएका समस्याहरू समाधान गर्न ढिलाइ गर्न मिल्दैन, नत्र जनताले हामीलाई ३६ वर्ष होइन, ३६ महिना वा ३६ दिन पनि कुर्दैनन्,” उनले भने।
उनले गुटबन्दीले पार्टी कमजोर हुने तर्क गर्दै त्यसबाट टाढा रहन कार्यकर्तालाई आग्रह गरे। “गुट बनाएर कांग्रेस र एमालेसँग प्रतिस्पर्धा गर्न सकिँदैन, घण्टीमुनि सबै अटाउन सक्छन्,” उनले भने।
लामिछानेले विभिन्न शक्ति एकजुट हुँदा पनि आफ्नो पार्टी नडराएको र नहल्लिएको उल्लेख गर्दै नागरिकको चेतनामाथि विश्वासकै कारण अघि बढ्न सफल भएको बताए।
उनले अब परिणाम देखाउने समय आएको भन्दै चुनावमार्फत पार्टीको शक्ति प्रदर्शन गर्ने तयारीमा रहेको बताए।
साथै, उनले कार्यकर्तालाई व्यक्तिगत स्वार्थ र पदलोलुपता त्याग्न आग्रह गर्दै देश केन्द्रित राजनीति गर्न नसके पुराना दलभन्दा पनि खराब अवस्था आउन सक्ने चेतावनी दिए। “आफ्नो हैसियतभन्दा देशलाई केन्द्रमा राख्न सक्नुपर्छ,” उनले जोड दिए।
प्रतिक्रिया