निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न सहयोग गरेकोमा एमालेप्रति प्रधानमन्त्री कार्कीको धन्यवाद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०८२, बुधबार ०७:०५

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा (एमाले) प्रति धन्यवाद व्यक्त गरेकी छन्।

निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा धन्यवाद ज्ञापन गर्न प्रधानमन्त्री कार्कीले एमाले नेतृत्वलाई बालुवाटारमा आमन्त्रण गरेकी थिइन्। सो क्रममा एमालेका नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले मुलुकको कठिन परिस्थितिलाई शान्तिपूर्ण रूपमा निकास दिन निर्वाचन नै एकमात्र विकल्प भएको बताइन्। “राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरूले देखाउनुभएको सहयोगी भूमिका र निर्वाचनमा सक्रिय सहभागिताका लागि मुरीमुरी धन्यवाद दिन चाहन्छु,” उनले भनिन्।

प्रधानमन्त्री कार्कीले निर्वाचनमा जित–हार स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै एकपटकको जनादेशबाट विचलित नहुन एमाले नेतृत्वलाई आग्रह गरिन्। “एकैपटकको जनमतले सधैंका लागि पार्टीहरूको हैसियत निर्धारण गर्दैन,” उनले भनिन्, “राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर अघि बढ्न आवश्यक छ।”

उनले भारतका पूर्व प्रधानमन्त्री अटलविहारी बाजपेयी र पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीका कार्यकालमा देखिएका राजनीतिक उतारचढाव उदाहरणका रूपमा प्रस्तुत गर्दै लोकतन्त्रमा परिवर्तन स्वाभाविक भएको धारणा राखिन्।

उता, एमाले नेताहरूले पनि सबै पक्षलाई समेट्दै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की र उनको नेतृत्वको सरकारलाई बधाई दिएका छन्। मुलुकलाई कठिन घडीमा नेतृत्व प्रदान गर्दै सर्वस्वीकार्य, शान्तिपूर्ण र लोकतान्त्रिक निकास दिएको भन्दै सरकारको प्रशंसा गरेका हुन्।

उनीहरूले यसपटकको निर्वाचनमा प्रशासनले निष्पक्ष भूमिका निर्वाह गरेको उल्लेख गर्दै सरकारप्रति आभार व्यक्त गरेका थिए।

प्रतिक्रिया

Leave a Reply