काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचनबाट निर्वाचित १२५ जना सांसदलाई आज र भोलि दुई दिने अभिमुखीकरण प्रशिक्षण दिन लागेको छ।
पार्टीले ग्वार्कोस्थित होटल रोयल टुलिपमा फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदलाई आवासीय सुविधासहित प्रशिक्षण दिन लागेको हो।
रास्वपाले आइतबार निर्वाचन आयोगमा पठाएका ५७ जना समानुपातिक सांसदले पर्सी बुधबार निर्वाचित भएको प्रमाणपत्र पाएपछि उनीहरूलाई पनि अभिमुखीकरण कार्यक्रममा सहभागी गराइने जनाएको छ।
पार्टीले प्रशिक्षण कार्यक्रममा सहभागी सांसदका लागि ७ बुँदे निर्देशनसमेत जारी गरेको छ। जसअनुसार प्रशिक्षण पूर्ण रूपमा आवासीय हुनेछ भने कार्यक्रम हलभित्र मोबाइल फोन प्रयोग गर्न पाइने छैन।
त्यस्तै कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनालाई प्रवेश निषेध गरिएको छ। परिवारका सदस्य, साथीभाइ वा अन्यलाई कार्यक्रममा बोलाउन नपाइने र होटल परिसरमा भेटघाट तथा फोटो खिच्नसमेत रोक लगाइएको छ।
सांसदहरूका लागि पार्टीले खाना र आवासको व्यवस्था गर्ने भए पनि उनीहरूसँग आउने सवारी चालक वा सहयोगीहरूको व्यवस्थापन भने सम्बन्धित सांसदले आफैं गर्नुपर्नेछ। चालकहरूको भोजन र आवास अन्य होटल वा स्थानमा मिलाउन पार्टीले आग्रह गरेको छ।
प्रतिक्रिया