काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित हुने सदस्यहरूले चैत ५ गतेसम्म निर्वाचित भएको प्रमाणपत्र पाउने भएका छन्। निर्वाचन आयोग का अनुसार छ वटा राजनीतिक दलका तर्फबाट निर्वाचित हुने सदस्यहरूको नामावली आइतबारसम्म आयोगमा पठाउनुपर्नेछ।
आयोगको कार्यतालिकाअनुसार प्रक्रिया पूरा भएमा चैत ५ गतेसम्म प्रतिनिधिसभाका सबै २७५ सदस्य निर्वाचित भइसकेका हुनेछन्। प्रत्यक्षतर्फ धनुषा–१ को विवादमा अदालतले यसअघिको नतिजा बदर नगरेमा निर्वाचन परिणामले पूर्णता पाउने आयोगले जनाएको छ।
आयोगको तयारीअनुसार चैत ५ गते नै अन्तिम प्रतिवेदन रामचन्द्र पौडेल समक्ष बुझाइनेछ। राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस भएपछि सो जानकारी संघीय संसद् मा पठाइनेछ।
परिणाम संसद्मा पुगेपछि शपथको तयारी तथा सरकार गठनको प्रक्रिया समानान्तर रूपमा अघि बढ्नेछ। संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य नियमावलीअनुसार ज्येष्ठ सदस्य (सबैभन्दा ज्येष्ठ सांसद) को टुंगो लगाउनेछ। उक्त ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिएपछि अन्य सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने व्यवस्था छ।
सांसदहरूको शपथपछि राजनीतिक दलहरूले संसदीय दलको नेता चयन गर्नेछन्।
यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले एकल बहुमत प्राप्त गरेकाले नेपालको संविधानको धारा ७६(१) बमोजिम सरकार गठनको प्रक्रिया सुरु हुनेछ। उक्त प्रावधानअनुसार बहुमत प्राप्त दलको संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ।
निर्वाचन आयोगले चैत ५ भित्रै अन्तिम प्रतिवेदन पेस गरेमा ढिलामा पनि चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री चयन प्रक्रिया पूरा हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया