यूएईको फुजाइरा बन्दरगाहमा इरानको ड्रोन हमला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०८२, आईतवार ०६:२७

इरान । इरान ले संयुक्त अरब इमिरेट्स (यूएई) को फुजाइरा बन्दरगाह मा शनिबार ड्रोन हमला गरेको छ। यो हमला अमेरिका ले इरानको खार्ग द्वीप मा आक्रमण गरेलगत्तै भएको बताइएको छ।

यूएईका अधिकारीहरूका अनुसार फुजाइरामा लागेको आगो निभाउने प्रयास जारी छ। हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको ड्रोन खस्दा आगलागी भएको प्रारम्भिक जानकारी दिइएको छ।

फुजाइरा बन्दरगाह यूएईका लागि अत्यन्त महत्वपूर्ण पूर्वाधार मानिन्छ। यो मध्यपूर्वकै सबैभन्दा ठूलो तेल भण्डारण केन्द्रहरूमध्ये एक हो। साथै अन्तर्राष्ट्रिय पानीजहाजलाई इन्धन आपूर्ति गर्ने प्रमुख केन्द्रका रूपमा पनि यसलाई हेरिन्छ।

उक्त बन्दरगाह ओमानको खाडी मा अवस्थित छ। यहाँ पुग्नका लागि पानीजहाजहरूले पछिल्लो दुई सातादेखि युद्धको जोखिमका कारण लगभग बन्द रहेको हर्मुज स्ट्रेट पार गर्नुपर्दैन।

ड्रोन हमलापछि सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा यूएईको पूर्वी तटमा रहेको बन्दरगाह क्षेत्रबाट बाक्लो धुवाँ उठिरहेको देखिएको छ।

यो हमला त्यतिखेर भएको हो जब इरानी रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) ले अमेरिकाले खार्ग द्वीपमा आक्रमण गरेपछि यूएईका बन्दरगाह तथा अमेरिकी सैन्य ठेगानाहरू इरानका लागि वैध निशाना बन्न सक्ने चेतावनी दिएको थियो।

तेहरानको तेल उद्योग र समग्र अर्थतन्त्रका लागि खार्ग द्वीप अत्यन्त महत्वपूर्ण मानिन्छ।

यसैबीच इरानी सेनाको खताम मुख्यालयका प्रवक्ता इब्राहिम जुल्फीगरी ले यूएईका बन्दरगाहमा रहेका अमेरिकी क्षेप्यास्त्र प्रणाली तथा अमेरिकी सैनिक “लुक्ने स्थल” हरूमा आक्रमण गर्नु इरानको वैध अधिकार भएको बताएका छन्।

उनले सम्भावित जोखिमबाट बच्न यूएईका सहरहरू खाली गर्न मुस्लिमहरूलाई आह्वानसमेत गरेका छन्।

यसअघि कतार मा पनि अमेरिकी व्यापारिक स्वार्थ जोडिएका केही स्थानहरू खाली गर्न अधिकारीहरूले आदेश दिएका थिए। इरानले ती स्थानहरूलाई सम्भावित निशाना बताएपछि त्यहाँका बासिन्दालाई अन्यत्र सर्न आग्रह गरिएको हो।

राजधानी दोहा को मुशेइरेब डिस्ट्रिक्ट क्षेत्रमा रहेका अमेरिकी कम्पनीहरू—जस्तै GoogleAmerican Express—का कार्यालय आसपासका मानिसहरूलाई फोनमार्फत् सावधानी सन्देश पठाएर स्थान खाली गर्न आग्रह गरिएको बताइएको छ।

प्रतिक्रिया