काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित अबुधाबीस्थित नेपाली दूतावास ले त्यहाँ रहेका नेपाली नागरिकलाई आफ्ना महत्त्वपूर्ण कागजात सुरक्षित राख्न अनुरोध गरेको छ।
दूतावासले मंगलबार सूचना जारी गर्दै यूएईमा बसोबास तथा कार्यरत करिब सात लाख नेपालीलाई राहदानीलगायत आवश्यक कागजात सुरक्षित राख्न आग्रह गरेको हो।
जारी सूचनामा यूएईमा रहेका सम्पूर्ण नेपालीलाई समयमै आफ्नो राहदानीको बहाल अवधि जाँच गर्न र राहदानी, नागरिकता तथा इमिरेट्स आईडी जस्ता महत्त्वपूर्ण कागजातहरूको डिजिटल प्रतिलिपि सुरक्षित राख्न अनुरोध गरिएको छ।
दूतावासले राहदानीको म्याद सकिएको वा सकिन लागेको अवस्थामा रहेका नेपाली नागरिकलाई यथाशीघ्र नवीकरण प्रक्रिया अघि बढाउन पनि आग्रह गरेको छ। त्यसका लागि अबुधाबीस्थित नेपाली दूतावास तथा दुबईस्थित नेपाली महावाणिज्यदूतावास मा आवेदन दिन सकिने जनाइएको छ।
यसैगरी, दूतावास वा कन्सुलेट कार्यालयबाट सेवा लिन जाँदा आफ्नो तथा वरपरको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै स्थानीय सूचना र सुरक्षा मापदण्ड पालना गर्न पनि दूतावासले आग्रह गरेको छ।











प्रतिक्रिया