फ्लोरिडास्थित ट्रम्प निवास परिसरमा प्रवेश गर्ने व्यक्ति सुरक्षाकर्मीको गोलीबाट मृत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ फाल्गुन २०८२, सोमबार ०७:१२

काठमाडौं ।  डोनाल्ड ट्रम्प को फ्लोरिडास्थित निवास परिसरमा जबरजस्ती प्रवेश गरेका एक व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेका छन् ।

घटना हुँदा ट्रम्प वासिङ्टन डीसी मा रहेका थिए भने उनका परिवारका सदस्य फ्लोरिडास्थित घरमै थिए । अधिकारीहरूका अनुसार परिवारका सबै सदस्य सुरक्षित छन् ।

स्थानीय सुरक्षा अधिकारीका अनुसार ती व्यक्तिलाई युनाइटेड स्टेट्स सिक्रेट सर्भिस का एजेन्ट र पाम बीच काउन्टी शेरिफ कार्यालय का सुरक्षाकर्मीले रोक्ने प्रयास गरेका थिए । सुरक्षाकर्मीले हतियार छोड्न आदेश दिएपछि उनले पेट्रोलको डिब्बा भुइँमा राखे पनि शटगन चलाउन खोजेपछि गोली चलाउनुपरेको शेरिफ रिक ब्रेडशाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

घटनास्थलबाट एक पेट्रोलको डिब्बा र शटगन बरामद गरिएको छ । घटनामा कुनै पनि सुरक्षाकर्मी घाइते भएका छैनन् ।

बीबीसीका अनुसार ट्रम्पको घर रहेको मार–आ–लागो मा सधैं कडा सुरक्षा व्यवस्था रहने गर्छ । बाहिरी सुरक्षा घेरा शेरिफ कार्यालयले सम्हाल्ने र भित्री सुरक्षा सिक्रेट सर्भिसले गर्ने व्यवस्था छ । आगन्तुकहरूको कडाइका साथ जाँच हुने तथा सवारीसाधन र झोला मेटल डिटेक्टर र कुकुरमार्फत परीक्षण गरिने व्यवस्था छ ।

यस्तो कडा सुरक्षाबीच संदिग्ध व्यक्ति भित्री क्षेत्रमा कसरी प्रवेश गर्न सफल भयो भन्नेबारे अनुसन्धान जारी छ । मारिएका व्यक्तिको पहिचान खुलाइएको छैन ।

यस घटनाले अमेरिकामा बढ्दो राजनीतिक हिंसाबारे पुनः चिन्ता बढाएको विश्लेषण गरिएको छ । ट्रम्पमाथि यसअघि पनि आक्रमण प्रयास भएका थिए । घटनापछि ट्रम्प र उनको परिवार वरिपरि सुरक्षा व्यवस्था अझ कडा बनाइएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply