जेफ्री एपस्टाइन प्रकरणः बिल र हिलारी क्लिन्टन कंग्रेसनल अनुसन्धानमा बयान दिन सहमत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० माघ २०८२, बिहीबार ०६:५०

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र उनकी श्रीमती तथा पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन जेफ्री एपस्टाइन प्रकरणसम्बन्धी कंग्रेसनल अनुसन्धानमा बयान दिन सहमत भएका छन्।

हाउस ओभरसाइट कमिटीमा उपस्थित हुन अस्वीकार गरेको आरोपमा दम्पतीलाई आपराधिक अवहेलनाको दोषी ठहर गर्ने कि नगर्ने भन्ने विषयमा केही दिनपछि मतदान हुने तालिका रहेको थियो। यसैबीच क्लिन्टन दम्पतीले समितिमा उपस्थित हुने सहमति जनाएका हुन्।

बिल क्लिन्टन सन् २०१९ मा जेलमै मृत्यु भएका वित्तीय कारोबारी जेफ्री एपस्टाइनसँग परिचित रहेको स्वीकार गरिसकेका छन्। तर उनले एपस्टाइनका यौन अपराधबारे आफूलाई जानकारी नभएको र करिब दुई दशकअघि नै सम्पर्क समाप्त भएको दाबी गर्दै आएका छन्।

गत महिना रिपब्लिकन नेतृत्वको हाउस ओभरसाइट कमिटीले क्लिन्टनलाई अवहेलनाको दोषी ठहर गर्ने प्रस्ताव अनुमोदन गरेको थियो, जसलाई केही डेमोक्र्याटिक सांसदहरूले पनि समर्थन गरेका थिए। सोमबार साँझ क्लिन्टनका उपप्रमुख कर्मचारी एन्जल उरेनाले क्लिन्टन दम्पती समितिमा उपस्थित हुने जानकारी दिएका हुन्।

क्लिन्टनले यसअघि नै एपस्टाइनबारे सीमित जानकारीसहित शपथपत्र समितिमा बुझाइसकेका छन्। सन् १९८३ पछि पहिलोपटक कुनै पूर्व अमेरिकी राष्ट्रपतिले कंग्रेसनल समितिसमक्ष बयान दिन लागेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply