काठमाडौँ । वेल्सको सुन्दर तटीय क्षेत्रमा अवस्थित एउटा निजी टापु हाल बिक्रीमा राखिएको छ।
ग्विनेड क्षेत्रको पोर्टमेइरियन नजिकै ड्वाइरिड इस्टुअरीमा रहेको य्निस गिफ्टान नामक ज्वारीय टापु बिक्रीका लागि उपलब्ध गराइएको हो। करिब १७ एकड क्षेत्रफल रहेको यस टापुको गाइड मूल्य ३ लाख ५० हजार पाउन्ड तोकिएको छ, जुन नेपाली रुपैयाँमा करिब ६ करोड ९२ लाख रुपैयाँ बराबर पर्छ। यो मूल्य बेलायतको औसत घर मूल्यभन्दा थोरै मात्र बढी हो।
टापुमा रहेको भिक्टोरियन शैलीको ढुंगाको फार्महाउसमा सन् १९७० को दशकसम्म मानिसहरू बसोबास गर्थे। तर हाल उक्त घरलाई व्यापक मर्मतसम्भार आवश्यक रहेको रियल इस्टेट कम्पनी कार्टर जोनसले जनाएको छ।
इतिहासअनुसार, २०औँ शताब्दीमा यहाँ बसोबास गर्ने मानिसहरू ज्वार घटेको समयमा जुत्ता खोलेर पानी हुँदै मुख्य भूमिसम्म पैदल आवतजावत गर्ने गर्दथे। यो टापु सन् १७०० को दशकमा महारानी एनीले लर्ड हार्लेकका पुर्खालाई उपहारस्वरूप प्रदान गरेकी थिइन्। त्यसैका कारण यसको नामको अंग्रेजी अर्थ ‘एनीको उपहार टापु’ रहेको छ।
उच्च ज्वारको समयमा टापुमा डुंगामार्फत मात्र पुग्न सकिन्छ, भने कम ज्वारको बेला ज्वारीय बालुवामाथि करिब ४ सय मिटर पैदल हिँडेर पाँच मिनेटमै मुख्य भूमिबाट टापुमा पुग्न सकिन्छ। यद्यपि, टापु र मुख्य भूमिबीच दुईवटा नदीका धार बग्ने भएकाले सावधानी अपनाउनुपर्ने विज्ञहरूले चेतावनी दिएका छन्।
यो टापु वेल्सको सबैभन्दा सुन्दर तटीय क्षेत्रमध्ये एकमा अवस्थित भएकाले एकान्त जीवनशैली वा नयाँ जीवनशैली परियोजना खोज्ने खरीददारका लागि अद्वितीय अवसरका रूपमा हेरिएको छ।
राइटमुभ वेबसाइटमा प्रकाशित विवरणअनुसार, टापु वरिपरि खुला र अविकसित भू–दृश्य रहेको छ, जहाँबाट एरिरी राष्ट्रिय निकुञ्जका पहाड र समुद्री किनाराका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। केही स्थानमा जमिन झाडीले ढाकिएको र पुनः चरन तथा व्यवस्थापन आवश्यक रहेको पनि उल्लेख गरिएको छ।
प्रतिक्रिया