काठमाडौँ । हङकङको एक अदालतले लोकतन्त्र समर्थक मिडिया व्यवसायी जिमी लाइलाई २० वर्षको जेल सजाय सुनाएको छ। बेलायती राहदानी धारक लाइमाथि राष्ट्रिय सुरक्षा कानून अन्तर्गत विदेशी शक्तिसँग षड्यन्त्र गरेको दुई अभियोग प्रमाणित भएको अदालतको ठहर छ।
यससँगै, औपनिवेशिक कालदेखि कायम रहेको छुट्टै कानुन अन्तर्गत उनले आफ्नो स्वामित्वको एप्पल डेली पत्रिकामार्फत देशद्रोहपूर्ण सामग्री प्रकाशित गरेको अभियोग पनि अदालतले स्वीकार गरेको छ। एप्पल डेली पत्रिका हाल बन्द भइसकेको छ।
लाइ यसअघि नै धोखाधडी तथा गैरकानुनी जमघटमा संलग्न भएको अभियोगमा जेल सजाय भोगिरहेका छन्। सोमबार सुनाइएको नयाँ सजायमध्ये दुई वर्ष हालको सजायसँग समायोजन गरिनेछ भने बाँकी १८ वर्ष थप जेल सजाय हुनेछ। यसअनुसार उनी सन् २०४४ मा रिहा हुँदा ९६ वर्षका हुने अनुमान गरिएको छ।
हङकङको कानुनअनुसार राम्रो आचरण देखाएमा कैदीलाई सजायको एक तिहाइ छुट दिन सकिने व्यवस्था छ। सो सुविधा लागू भएमा लाइ २०३७ वा २०३८ तिर रिहा हुन सक्नेछन्, जसबेला उनी करिब ९० वर्षका हुनेछन्।
जिमी लाइले आफूविरुद्ध लगाइएका सबै आरोपहरू अस्वीकार गर्दै आएका छन्। उनका समर्थकहरूले उनलाई लोकतन्त्रको नायकका रूपमा हेर्ने गरेका छन् भने आलोचकहरूले देशद्रोहीको संज्ञा दिने गरेका छन्। यसबीच, लाइको परिवारले जेलमा उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै चिन्ता व्यक्त गर्दै आएको छ। यद्यपि, अधिकारीहरूले भने उनको स्वास्थ्य राम्रो रहेको र अधिकारहरू पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरेका छन्।
अदालतको फैसलासँगै एप्पल डेलीसँग सम्बद्ध अन्य व्यक्तिहरू पनि दोषी ठहर भएका छन्। दोषी ठहर हुनेहरूमा
पूर्व सम्पादक–इन–चीफ रायन ल वाई–क्वोङ,
पूर्व कार्यकारी सम्पादक–इन–चीफ लाम मान–चुङ,
वरिष्ठ सम्पादकीय लेखक फङ वाई–कोङ,
प्रमुख सम्पादकीय लेखक येउङ चिङ–की,
सहयोगी प्रकाशक चान पुई–म्यान,
र नेक्स्ट डिजिटलका पूर्व प्रमुख कार्यकारी चेउङ किम–हुङ रहेका छन्।
यस फैसलालाई हङकङमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि थप कडाइको संकेतका रूपमा अन्तर्राष्ट्रिय स्तरमा हेरिएको छ।
प्रतिक्रिया