काठमाडौँ । जापानमा तल्लो सदनको निर्वाचनका लागि मतदान सम्पन्न भएको छ। प्रारम्भिक अनुमानअनुसार वर्तमान प्रधानमन्त्री साने ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले स्पष्ट बहुमत हासिल गर्ने देखिएको छ।
देशको पहिलो महिला प्रधानमन्त्री बनेको चार महिनापछि ताकाइचीले जनताबाट स्पष्ट जनादेश प्राप्त गर्न भन्दै मध्यावधि निर्वाचनको आह्वान गरेकी थिइन्।
४६५ सदस्यीय जापानको तल्लो सदनमा एलडिपीले ३०० भन्दा बढी सिट जित्ने अनुमान गरिएको छ। जापानको निर्वाचन प्रणालीअनुसार ४६५ सिटमध्ये २८९ सिट प्रत्यक्ष निर्वाचन प्रणालीबाट र १७६ सिट समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ।
प्रधानमन्त्री ताकाइचीको लोकप्रियता बढिरहेको समयमा पार्टीले नयाँ जनमत लिने निर्णय गरेको थियो। यसलाई कतिपयले जोखिमपूर्ण कदमका रूपमा व्याख्या गरेका थिए, किनकि यसअघि एलडिपीले संसदका दुवै सदनमा बहुमत गुमाएको अवस्था थियो।
तर ताकाइचीको उच्च लोकप्रियताले पार्टीलाई पुनः मजबुत बनाएको देखिएको छ। उनको सरकारको स्वीकृति दर अधिकांश समय ७० प्रतिशतभन्दा माथि रहेको बताइएको छ।
चुनावका प्रारम्भिक नतिजाअनुसार एलडिपी र जापानी इनोभेसन पार्टीको गठबन्धनले तल्लो सदनका ४६५ सिटमध्ये करिब ३०० भन्दा बढी सिट जित्ने देखिएको छ।
प्रतिक्रिया