झण्डै दुई करोड डलर घुस लिएको अभियोगमा चीनका पूर्व न्यायमन्त्रीलाई आजीवन कारावास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ माघ २०८२, मंगलवार ०७:११

चीन ।  झण्डै दुई करोड अमेरिकी डलर बराबरको घुस लिएको अभियोगमा चीनको एक अदालतले पूर्व न्यायमन्त्री ताङ यिजुनलाई आजीवन कारावासको सजाय सुनाएको छ। पूर्वी चीनस्थित सियामेन इन्टरमीडिएट पिपुल्स कोर्टले सोमबार उक्त फैसला सुनाएको हो।

६४ वर्षीय ताङ यिजुन सन् २०२० देखि २०२३ सम्म चीनको न्यायमन्त्री रहेका थिए। यसअघि उनले लियाओनिङ प्रान्तका गभर्नर, निङ्बो सहरका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का प्रमुखलगायत उच्च पदहरू सम्हालेका थिए।

अदालतले जारी गरेको विज्ञप्तिअनुसार ताङले सन् २००६ देखि २०२२ सम्म विभिन्न पदमा रहँदा आफ्नो अधिकारको दुरुपयोग गर्दै व्यक्ति तथा संस्थाहरूलाई फाइदा पुर्‍याएको ठहर गरेको छ। सो अवधिमा उनले प्रारम्भिक सार्वजनिक बोलपत्र निष्कासन, बैंक ऋण स्वीकृति, जग्गा अधिग्रहणलगायतका विषयमा सहयोग गरेबापत १३७ मिलियन युआन (झण्डै १९.७ मिलियन अमेरिकी डलर) घुस लिएको अभियोग प्रमाणित भएको अदालतले जनाएको छ।

अदालतका अनुसार ताङले पक्राउ परेपछि अभियोग स्वीकार गरेका, पश्चाताप व्यक्त गरेका तथा अनुसन्धानमा सहयोग गरेको कारण सजाय निर्धारणमा केही नरम दृष्टिकोण अपनाइएको हो। तर, भ्रष्टाचारको गम्भीरता हेर्दा आजीवन कारावास उपयुक्त ठहर गरिएको अदालतको निष्कर्ष छ।

चीनका राष्ट्रपति सी जिनपिङ सन् २०१२ मा सत्तामा आएपछि व्यापक भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्दै आउनुभएको छ। यद्यपि, आलोचकहरूले यस अभियानलाई सम्भावित राजनीतिक प्रतिद्वन्द्वीहरूलाई कमजोर पार्ने रणनीति भएको आरोप लगाउँदै आएका छन्।

यसअघि अर्का पूर्व चिनियाँ न्यायमन्त्री फु झेङहुआलाई सन् २०२२ मा भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरिएको थियो। उनलाई सुरुमा दुई वर्षको राहतसहित मृत्युदण्ड सुनाइए पनि पछि सजाय आजीवन कारावासमा परिवर्तन गरिएको थियो।

यसैबीच, चिनियाँ अधिकारीहरूले गत महिना देशका सबैभन्दा शक्तिशाली सैन्य व्यक्तित्वमध्ये एक मानिने जनरल झाङ युक्सियामाथि पनि भ्रष्टाचारविरोधी अनुसन्धान सुरु गरेका छन्। उनी पछिल्ला दशकहरूमा पदबाट हटाइएका सबैभन्दा उच्च तहका सैनिक अधिकारीमध्ये एक हुन्।

प्रतिक्रिया

Leave a Reply