काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा पौष २५ देखि २७ गतेसम्म आयोजना गरिएको ‘बुढानीलकण्ठ सडक खाजा महोत्सव’ भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ६० वटा स्टलमार्फत रैथाने तथा स्थानीय परिकारदेखि अन्तर्राष्ट्रिय स्वादसम्मका विविध खाजाहरू प्रस्तुत गरिएको थियो।
महोत्सव अवधिभर नगरवासीसहित उपत्यकाका विभिन्न क्षेत्रबाट आएका नागरिकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। साँझपख झनै चहलपहल बढ्दा महोत्सव उत्सवमय बनेको थियो।
महोत्सवलाई सफल बनाउन बुढानीलकण्ठलाई पर्यटन व्यवसायको गन्तव्यका रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका लेमन ट्री, होलिडे इन, पार्क भिलेज, ग्रिन भ्याली रिसोर्ट र रोयल भिल्ला जस्ता प्रतिष्ठित होटलहरूको सहकार्य रहेको थियो।
यस्ता होटलहरूको सक्रिय सहभागिताले कार्यक्रमको स्तर, व्यवस्थापन र आकर्षणलाई थप सुदृढ बनाएको आयोजक पक्षले जनाएको छ।
कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र अनुशासित बनाउन बुढानीलकण्ठ नगर प्रहरी, नगर स्काउट तथा स्वयंसेवक टोली अहोरात्र खटिएर जिम्मेवारी निर्वाह गरेका थिए।
यातायात व्यवस्थापनका लागि बुढानीलकण्ठ यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयपूर्ण प्रयासले महोत्सव सञ्चालनमा सहजता आएको थियो।
महोत्सवमा स्टल सञ्चालन गरेका स्थानीय व्यवसायी दाजुभाइ तथा दिदीबहिनीहरूले राम्रो व्यावसायिक लाभ लिएको आयोजकले जनाएको छ। यसले स्थानीय उद्यमशीलता प्रवर्द्धन र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पारेको विश्वास व्यक्त गरिएको छ।
महोत्सवको समापन कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री माननीय जयराम थापासहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व र नागरिक समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसअघि, महोत्सवको उद्घाटन समारोह पहिलो दिन वरिष्ठ कलाकार हरिवंश आचार्यको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रमको अन्त्यमा औपचारिक समापन घोषणा तथा सामूहिक फोटोसेसन गरिएको थियो। आयोजकका अनुसार बुढानीलकण्ठ सडक खाजा महोत्सवले स्थानीय परिकारको प्रवर्द्धन गर्दै संस्कृति, पर्यटन र स्थानीय अर्थतन्त्रलाई एकै सूत्रमा जोड्ने प्रभावकारी प्लेटफर्मको रूपमा आफूलाई स्थापित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया