काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको तस्बिर सार्वजनिक गरेका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सार्वजनिक गरेको उक्त तस्बिरमा राष्ट्रपति मदुरोको हातमा हतकडी लगाइएको र आँखामा पट्टी बाँधिएको देखिन्छ।
सार्वजनिक तस्बिरमा ६३ वर्षीय मदुरो खैरो ट्र्याकसुट लगाएको अवस्थामा देखिएका छन् भने उनी एउटा प्लास्टिकको पानीको बोतल समातेको अवस्थामा छन्।
राष्ट्रपति ट्रम्पले मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले पक्राउ गरी हेलिकप्टरमार्फत भेनेजुएलाबाट बाहिर निकालेको र हाल न्यूयोर्कतर्फ ल्याइँदै गरिएको दाबी गरेका छन्। ट्रम्पले मदुरो दम्पती पक्राउ परेपछि भेनेजुएलाको शासन अस्थायी रूपमा अमेरिकाले सम्हाल्ने दाबीसमेत गरेका छन्।
उनले भनेका छन्, “हामी देश चलाउनेछौं, तर त्यो सुरक्षित, सही र विवेकपूर्ण रूपमा सत्ता हस्तान्तरण नहुन्जेलसम्म मात्र हुनेछ।”
यसैबीच, अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले राष्ट्रपति मदुरोविरुद्ध लागुऔषध तथा आतङ्कवादसम्बन्धी अभियोग लगाइएको घोषणा गरेकी छन्। बोन्डीले सामाजिक सञ्जाल एक्स मा लेख्दै मदुरोमाथि संयुक्त राज्य अमेरिकाविरुद्ध ‘नार्को–आतङ्कवाद षड्यन्त्र, कोकिन आयात गर्ने षड्यन्त्र, तथा मेसिन गन र खतरनाक उपकरण राख्ने षड्यन्त्र’ को अभियोग रहेको उल्लेख गरेकी छन्। मदुरोले छिट्टै अमेरिकी अदालतमा अमेरिकी न्याय प्रणालीको सामना गर्ने उनको भनाइ छ।
यता, अमेरिकी कारबाहीको विरोधमा उत्रिएकाहरूले उक्त तस्बिरलाई “विश्वलाई स्तब्ध पार्ने” भनेका छन्। भेनेजुएलामाथिको अमेरिकी हस्तक्षेपविरुद्ध विश्वभरबाट विरोधका स्वर उठिरहेका छन्। अन्तर्राष्ट्रिय कानुनअनुसार सार्वभौम राष्ट्रका निर्वाचित राष्ट्रप्रमुखलाई जबर्जस्ती पक्राउ गर्नु गम्भीर उल्लंघन भएको उनीहरूको दाबी छ।
चीनले भेनेजुएलामा अमेरिकाले गरेको आक्रमण र राष्ट्रपति मदुरोमाथि गरिएको कारबाहीको कडा शब्दमा निन्दा गरेको छ। चिनियाँ विदेश मन्त्रालयले यस घटनाप्रति चीन ‘गम्भीर रूपमा स्तब्ध’ भएको र उक्त कारबाहीको कडा विरोध गरेको जनाएको छ।
रुसको विदेश मन्त्रालयले पनि भेनेजुएलामाथि अमेरिकाले गरेको ‘सशस्त्र आक्रमण’ को निन्दा गर्दै घटनाबारे तत्काल स्पष्टीकरण माग गरेको छ। रुसी विदेश मन्त्रालयले यदि उक्त कार्य पुष्टि भएमा यो “एक स्वतन्त्र राज्यको सार्वभौमिकतामाथिको अस्वीकार्य उल्लंघन” हुने चेतावनी दिएको छ।
रुसले थप तनाव रोक्न वार्ताको आह्वान गर्दै भेनेजुएलाका जनता र सरकारसँग ऐक्यबद्धता पुनः पुष्टि गरेको छ। आपतकालीन संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् बैठक बोलाउन रुसले समर्थन जनाएको छ। कराकसका निकट सहयोगी रुस र क्युबाले पनि उक्त कारबाहीको कडा निन्दा गरेका छन्।
संयुक्त राष्ट्रसंघले भेनेजुएलामा अमेरिकी आक्रमणपछि राष्ट्रपति मदुरो पक्राउ परेको भन्ने सूचनाले संगठन ‘गम्भीर रूपमा चिन्तित’ बनेको जनाएको छ। संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफन दुजारिकले जारी गरेको विज्ञप्तिमा यस किसिमका घटनाक्रम अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र खतरनाक नजिर भएको उल्लेख गरिएको छ।
प्रतिक्रिया