जगडोल–तारेभिरदेखि बुढानीलकण्ठ मन्दिरसम्म ऐतिहासिक पदयात्रा सम्पन्न, पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ पुष २०८२, शुक्रबार ०६:४९

बुढानीलकण्ठ, काठमाडौँ। बुढानीलकण्ठ पर्यटन बोर्डको आयोजनामा पर्यटन प्रवर्द्धन तथा पर्यटकीय गन्तव्यको पहिचान गर्ने उद्देश्यसहित जगडोल–तारेभिर (Ultimate Venue and Resort) हुँदै बुढानीलकण्ठ मन्दिरसम्मको पदयात्रा (हाइकिङ) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

 पौष १० गते बिहान ७:०० बजे बुढानीलकण्ठ नगरपालिका–जगडोलबाट सुरु भएको उक्त पदयात्रामा करिब ४०० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, पर्यटनप्रेमी, स्थानीय बासिन्दा तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको मार्ग

जगडोल–तारेभिर क्षेत्र प्राचीनकालदेखि नै प्राकृतिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिँदै आएको क्षेत्र हो। ऐतिहासिक रूपमा यो क्षेत्र काठमाडौं उपत्यकाको उत्तरी प्रवेशद्वारका रूपमा चिनिन्छ। तारेभिर आसपासका पहाड र वन क्षेत्रलाई पुराना यात्रु मार्ग तथा तपोभूमिका रूपमा समेत उल्लेख गरिएको पाइन्छ।

पदयात्राको अन्तिम गन्तव्य बुढानीलकण्ठ मन्दिर नेपालकै एक प्रमुख धार्मिक एवं ऐतिहासिक तीर्थस्थल हो। करिब ५औँ शताब्दीमा निर्माण भएको मानिने यस मन्दिरमा अवस्थित जलाशयमा शयन अवस्थामा रहेका भगवान विष्णुको मूर्ति विश्वकै विशिष्ट कलाकृतिमध्ये एक मानिन्छ। धार्मिक आस्थासँगै यो क्षेत्र ऐतिहासिक, सांस्कृतिक र पर्यटनको दृष्टिले अत्यन्त महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ।

पर्यटन र स्थानीय अर्थतन्त्रमा टेवा

प्राकृतिक सौन्दर्यले भरिपूर्ण जगडोल–तारेभिर हुँदै सम्पन्न पदयात्राले बुढानीलकण्ठ क्षेत्रका सम्भावित पर्यटकीय गन्तव्यहरूको पहिचान र प्रचार–प्रसारमा टेवा पुग्ने आयोजकले विश्वास व्यक्त गरेका छन्।

नगर प्रमुख मिठाराम अधिकारीले यस्ता कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धनका साथै स्थानीय अर्थतन्त्र सुदृढ गर्न सहयोग पुग्ने बताउँदै आगामी दिनमा पनि पर्यटनमैत्री कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

उप–प्रमुख अनिता लामाले पर्यटन विकास स्थानीय समुदायको सक्रिय सहभागिताबिना सम्भव नहुने बताउँदै, यस्ता कार्यक्रमले महिला, युवा तथा स्थानीय बासिन्दालाई पर्यटनसँग जोड्ने महत्वपूर्ण माध्यमको रूपमा काम गर्ने उल्लेख गर्नुभयो। उहाँले प्राकृतिक सम्पदा संरक्षणसँगै दिगो पर्यटन प्रवर्द्धनमा नगरपालिकाको ध्यान केन्द्रित रहेको पनि बताउनुभयो।

सम्मान र स्वागत

पदयात्रा पश्चात महिला सहभागीहरूलाई ढाकाको सल र पुरुष सहभागीहरूलाई ढाका टोपी प्रदान गरी सम्मान गरिएको थियो। साथै कार्यक्रमको अन्त्यमा बुढानीलकण्ठ नगरपालिका वडा नं. २ स्थित तौलुङ डम्फु समाजको तर्फबाट सहभागीहरूको भव्य स्वागत गरिएको थियो।

“🌿 प्रकृतिसँगै पदयात्रा, पर्यटन प्रवर्द्धनमा सहभागिता” भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रमले बुढानीलकण्ठलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि अझ आकर्षक, ऐतिहासिक र प्राकृतिक गन्तव्यका रूपमा चिनाउने अपेक्षा गरिएको छ।

 

0-3200×1440-0-0#

प्रतिक्रिया