काठमाडौं । पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए)को विशेष अदालतले शनिबार पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुसरा बिबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ।
अदालतको आदेशको प्रतिलिपि अनुसार दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ। जरिवाना तिर्न नसके थप जेल सजाय हुनेछ।
हाल रावलपिन्डीको अडियाला जेलमा रहेका इमरान खानलाई पाकिस्तान दण्ड संहिताको धारा ३४ (साझा इरादा) र ४०९ (आपराधिक विश्वासघात) अन्तर्गत १० वर्षको सश्रम कारावास र भ्रष्टाचार रोकथाम ऐनको धारा ५ (२) अन्तर्गत सात वर्षको सश्रम कारावासको सजाय सुनाइएको छ।
उनकी पत्नी बुसरा बिबीलाई पनि सोही कानुनी प्रावधान अन्तर्गत कुल १७ वर्षको जेल सजाय दिइएको समाचारमा उल्लेख छ।
यस वर्ष अक्टोबरमा इमरान खान र बुसरा बिबीले सबै अभियोग अस्वीकार गर्दै अदालतको निर्णयलाई राजनीतिक प्रतिशोध र मनगढन्त कदम भएको दाबी गरेका थिए।
डन पत्रिकाका अनुसार, पीटीआई संस्थापक इमरान खानले आफूले नीतिअनुसार उचित प्रक्रिया अपनाएको, प्रधानमन्त्री कार्यालय प्रोटोकल खण्डमा रिपोर्ट गरिएको र भुक्तानी राष्ट्रिय कोषमा जम्मा भएपछि कानुनी रूपमा राखिएको बताएका छन्।
प्रतिक्रिया