इटहरीको तालतलैया : दैनिक हजारौँ पर्यटक आकर्षित गर्ने पूर्वाञ्चलको प्रमुख वनभोज गन्तव्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ मंसिर २०८२, मंगलवार ०६:२९

सुनसरी । इटहरी उपमहानगरपालिका–२ र ३ मा फैलिएको तालतलैया पछिल्ला वर्षहरूमा पूर्वाञ्चलको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ। करिब २१.५ हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया विशेषगरी वनभोज तथा घुमघामका लागि अत्यन्त लोकप्रिय बन्दै गएको छ।

तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर रायमाझीका अनुसार मुख्य वनभोज सिजनमा दैनिक १२ देखि १५ हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका छन्। सामान्य दिनमा पनि ५०० भन्दा बढी पर्यटक घुमघामका लागि पुग्ने गरेको समितिले जनाएको छ। वनभोजका लागि एकैपटक ७० भन्दा बढी समूह समायोजन गर्ने क्षमता भएकाले दुई–चार दिन अघि नै बुकिङ लिनुपर्ने अवस्था आउने उनले बताए।

पर्यटक आकर्षणका लागि तालतलैया परिसरमा छ वटा पोखरी निर्माण गरिएको छ भने दुईवटा मोटरबोट सञ्चालनमा ल्याइएको छ। मंसिरदेखि माघसम्म पर्यटकको चाप उल्लेख्य रूपमा बढ्ने गरेको छ। अध्यक्ष रायमाझीका अनुसार करिब ४० प्रतिशत पर्यटक भारतका विभिन्न सहर तथा सिरहा–सप्तरी क्षेत्रबाट आउने गरेका छन्। चिडियाखानामै दुम्सी, मयुर, गिद्ध, चित्तल, हाँस, घोडा, बाँदरलगायतका वन्यजन्तु अवलोकन गर्न पनि पर्यटकको भीड बढ्ने गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयबाट विनियोजन भएको रु. ८५ लाख बजेटले तालतलैया परिसरभित्र शौचालय, चिडियाखानाका संरचना, नर्सरी, वाटर फाउण्टेन तथा बालबालिकाका लागि चिल्ड्रेन पार्क निर्माण गरिएको समितिले जनाएको छ। स्कुल बिदाका समयमा बालबालिकासहित आउने अभिभावकहरूको उपस्थिति उल्लेख्य हुने गरेको छ।

स्थानीय व्यापारी चन्द्रकला श्रेष्ठका अनुसार घर नजिकै पर्यटकीय स्थल रहेका कारण ससाना व्यवसायमा ठूलो फाइदा पुगेको छ। दैनिक सयौँ पर्यटक आउँदा चटपटे, म:म, चाउमिनलगायत परिकारको बिक्री बढेको र आम्दानीमा उल्लेख्य वृद्धि भएको उनले बताइन्।

मोरङको कानेपोखरीबाट साथीसहित घुम्न आएका निरोज थापाले तालतलैया छुट्टी मनाउन उपयुक्त गन्तव्य भएको बताए। “फराकिलो खुला क्षेत्र, बोटिङ, फोटो स्पट र आकर्षक संरचना भएकाले हामी प्रायः यहाँ आउँछौँ,” उनले भने।

पूर्वाञ्चलको प्रमुख मनोरञ्जन तथा वनभोज केन्द्रका रूपमा विकसित हुँदै गएको तालतलैया स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। संरचना जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र पूर्वाधार विस्तारका लागि संघीय तथा प्रदेश सरकारबाट निरन्तर सहयोग आएको व्यवस्थापन समितिको भनाइ छ। परिसरभित्र विश्रामका लागि बनाइएका चौतारा, बगैँचा तथा विभिन्न मूर्तिले तालतलैयाको आकर्षण झनै बढाएको छ।

प्रतिक्रिया